‘तीन ठाउँमा बम छ’ भन्दै प्रहरीलाई फोन गर्ने झा भन्छन– किन त्यस्तो गरें मलाई नै थाहा छैन

काठमाडौँ — शुक्रबार बिहान काठमाडौं प्रहरी परिसरमा एक अस्वाभाविक सूचना आयो। महोत्तरीका ३५ वर्षीय जयरुद्र झाले ‘राजधानीका तीन ठाउँमा बम राखिएको छ र दिउँसो चार बजेसम्म विस्फोट हुन सक्छ’ भन्दै प्रहरीलाई जानकारी दिए। तत्काल प्रहरी अनुसन्धानमा खटियो।
तर, केही समयमै प्रहरीले काठमाडौंमा कुनै बम नराखिएको पत्ता लगायो। बरु त्यो सूचना भ्रामक भएको पत्ता लगाउन प्रहरीलाई धेरै समय लागेन। प्रहरीले अनुशन्धान गर्दै जाँदा झा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षा दिन हिडेका थिए। मानसिक तनाव र पढाईको दबाबका कारण उनले यस्तो झूटो सूचना दिएका खुुलेको छ।
प्रहरीसँगको बयानमा झाले भनेका छन् ‘मैले किन यस्तो गरें थाहा छैन। मैले मोबाइलबाट प्रहरीलाई फोन गरेँ र पछि गल्ती महसुस भएपछि पुनः फोन गरेर झूटो सूचना भएको जानकारी गराएँ।’ उनले बताए अनुसार उनी केही दिनदेखि पढाईका कारण सुत्न पाएका थिएनन्। त्यसैले मानसिक रूपमा अत्यन्तै तनावमा थिए।
झा केही समयअघि मानसिक स्वास्थ्य उपचारमा पनि थिए। तर पछिल्लो चरणमा औषधि सेवन नगरेको कारणले यस्तो भएको हुन सक्ने उनको भनाई छ। उनले आफुबाट गल्ती भएको स्वीकार गर्दै कानूनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
झाले भनेका छन्– ‘म कक्षा ९ सम्म सधैं प्रथम स्थान पाउँथेँ, तर एसएलसीमा अपेक्षित नतिजा आएन। त्यसपछि आट्र्स विषय रोजेँ। सन् २०१७ मा त्रिवि सेन्टर डिपार्टमेन्टमा भर्ना भए पनि पढाइमा चासो कम थियो। कोभिडको कारण मास्टर तहको पढाइ सुस्तायो। अहिले म निजी क्षेत्रमा ४० हजार रुपैयाँ मासिक आम्दानीको जागिरमा काम गर्दैछु।’
प्रहरीका अनुसार झाले दिएको झूटो सूचना सार्वजनिक शान्ति र सुरक्षामा बाधा पुर्याउने खालको थियो। त्यसैले प्रहरीले उनको विषयमा मुलुकी अपराध संहिताअनुसार अभद्र ब्यवहारको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।