मन्त्रीलाई धम्की दिने किरण साह पक्राउ प्रकरणः ‘नागरिकको आवाज’ कि ‘असभ्य शैली’ ?

वीरगञ्ज– पर्साको वीरगन्जमा हैजा र झाडापखालाले महामारीको रूप लिँदै गर्दा खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरेर असभ्य शैलीमा प्रश्न सोध्ने किरण साह पक्राउ परेको विषय पेचिलो बनेको छ।
उनलाई पक्राउ गरिएको विरोधमा उनकी आमा सावित्री साह सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा प्रदर्शन गर्न पुगिन। कार्यालयको ढोकैमा उभिएर उनले प्रश्न गरिन— ‘पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?’
सावित्रीले छोरीको पक्षमा आक्रोश व्यक्त गर्दै भनिन्, ‘मन्त्रीले पद र पावरको आडमा मेरी छोरीलाई पक्राउ गर्न लगाएका हुन्। किरणले त सबै नागरिकको आवाज उठाएकी मात्र हुन्। यदि तुरुन्तै रिहा नगरे महिलालाई उतारेर आन्दोलन गर्छौं।’
उनको समर्थनमा जसपा नेपालकी केन्द्रीय सदस्य करिमा बेगम, जनमत पार्टीकी नेतृ नजमा खातुनसहित विभिन्न संघ–संगठनका प्रतिनिधिहरू पनि प्रहरी कार्यालयअघि पुगेका थिए।
तर, यो घटनाले अर्कै कोणबाट पनि ठूलो विवाद निम्त्याएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको टेलिफोन संवादमा किरण साह मन्त्रीलाई धम्की दिने शैलीमा प्रस्तुत भएको प्रष्ट देखिन्छ। उनले सामान्य शिष्टाचारसम्म नगरी असभ्य भाषामा मन्त्रीलाई प्रश्न गरेकी छन्। मन्त्री यादवले पटक–पटक ‘तपाईं को हो ?’ भनेर सोध्दा पनि उनले आफ्नो प्रस्ट परिचय गराएकी छैनन्। बरु, आफूलाई ठूलो ‘हस्ती’ झैं प्रस्तुत गर्दै मन्त्रीलाई अपमान गरेको सुनिन्छ।
कतिपयले यसलाई सामान्य नागरिकले मन्त्रीलाई प्रश्न गरेको भन्दै समर्थन गरे पनि, धेरैले किरणको व्यवहारलाई गैरजिम्मेवार र असभ्य ठानेका छन्। हैजाको संवेदनशील अवस्थामा मन्त्रीलाई धम्की दिने भाषामा प्रस्तुत हुनु, आफ्नो नाम खुलेर नभन्नु, राज्यको संरचना र पदलाई सम्मान नगर्नु जस्ता कारणले उनको गिरफ्तारीलाई ‘न्यायसंगत’ ठहर गर्नेहरू पनि छन्।
उनकी आमाले भने आफैँ बिरामी भई अस्पतालमा उपचाररत रहँदा छोरी कुरुवा बसिरहेको बेला पक्राउ गरिएको गुनासो गरिन्। उनले कान्छी छोरी अझै अस्पतालमै भएको दाबी गरिन्। तर, स्थानीय नेताहरूले भने अस्पतालमा कोही भर्ना नभएको भन्दै उनको भनाइलाई अफवाहको रूपमा चित्रण गरेका छन्।
यसरी एकातिर परिवार र केही नेताहरू किरणको रिहाइको पक्षमा सडकमा उत्रिएका छन् भने अर्कातिर ठूलो संख्यामा आम नागरिक सामाजिक सञ्जालमै उनको आलोचना गरिरहेका छन्। किरणको शैलीले मन्त्रीलाई मात्र होइन, नागरिकको आवाजलाई पनि कमजोर बनाइदिएको टिप्पणी भइरहेको छ।