१४ करोड ऋण तिर्न नसकेपछि एनआइसी एसिया बैंकले कब्जा गर्यो इटहरी मल

इटहरी– आइ सिनेमाको नामले चर्चित इटहरीको पहिलो व्यापारिक कम्प्लेक्स ‘इटहरी मल’ एनआइसी एसिया बैंकले खाली गराएको छ। १४ करोड रुपैयाँ ऋणको साँवा र ब्याज तिर्न असमर्थ भएपछि भवन मालिक रेवती रमण दुलालबाट बैंकले सोमबार जबर्जस्ती सम्पत्ति खाली गराएको हो।
इटहरी मलसँगै कित्ता नम्बर ५००, ८३०, ८३१, २७९ र ४९८ मा पर्ने एक कट्ठा १३ धुर जग्गासहितको सात तले भवन अहिले स्थायी रूपमा बैंकको नाममा दर्ता गरिएको छ। बैंकले यसलाई प्रादेशिक कार्यालय राख्ने गरी स्थिर सम्पत्तिको रूपमा लिएको जनाएको छ।
बैंकका अनुसार लामो समयदेखि बारम्बार ताकेता गर्दा पनि दुलालले भवन खाली नगरेपछि सुरक्षाकर्मीको सहयोगमा सम्पत्ति नियन्त्रणमा लिनु परेको हो। बैंकले लिलामी प्रक्रिया सुरु गर्दा कुनै पनि इच्छुक बोलपत्रमा सहभागी नभएकाले अन्ततः बैंकले आफ्नै नाममा सम्पत्ति राखेको थियो।
राजनीतिक पहुँचको आडमा दुलालले वर्षौंदेखि लिलामी प्रक्रिया रोक्दै आएको आरोप समेत लागेको छ। ऋण तिर्न नसकेपछि इटहरी मल जस्तो ठूला व्यवसायिक सम्पत्तिसमेत बैंकले कब्जा गर्नुपरेको घटनाले वित्तीय क्षेत्रमै व्यापक तरंग ल्याएको छ।