मोटरसाईकलसहित ३ दिनदेखि वेपत्ता दुई युवकको शव खोलामा भेटियो

रसुवा– रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला परेको छ। भदौ १५ गतेदेखि बेपत्ता भएका उनीहरूको शव घटनास्थलभन्दा करिब २५० मिटर तल खोलामा भेटिएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार फेला परेको एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव पनि सोही खोलामा देखिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा गोसाइकुण्ड गाउँपालिका–६, ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ रहेका छन्। उनीहरू एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए। लामो समयसम्म सम्पर्कमा नआएपछि आफन्तले १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा खोजतलासका लागि निवेदन दिएका थिए।
निवेदनपछि खोजतलास सुरू गरिएको थियो। नेपाली सेनाको श्रीनाथ गणले धुन्चे चेकप्वाइन्टमा जडान गरेको सीसीटीभी फुटेजमा भदौ १५ गते राति करिब १० बजे धुन्चेबाट ठाडेतर्फ उनीहरू मोटरसाइकलमा गएको देखिएको थियो।
त्यसपछि सेनाको श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खस्दा दुर्घटना भएको अनुमान गरिएको छ।