फेसवुक बन्द गर्ने निर्णयमा भारतीय मिडियाले भन्योः लाखौँ नेपालीको डिजिटल पहुँचमा ठूलो असर

काठमाडौँ– नेपाल सरकारले दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई तत्काल बन्द गर्ने निर्णयका विषयमा भारतीय मिडियाले समेत समाचारहरु प्रकाशित गरेका छन्।
आजतकले ‘संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नगरेका सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको’ भन्दै समाचार लेखेको छ।
समाचार अनुसार सरकारले सात दिनको समयसीमा तोकेर दर्ता गर्न आग्रह गरेको थियो। तर, समयसीमा सकिएपछि दर्ता नगरेका प्लेटफर्मलाई बन्द गर्ने निर्णय भएको हो।
यसका लागि नेपाल टेलिकमलाई पत्र पठाई ती सञ्जाललाई ‘डी–एक्टिभेट’ गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। यो निर्णयसँगै नेपालमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्सएप, युट्युब र गुगलसहितका लोकप्रिय साइटहरू बन्द हुने भएका छन्।
यद्यपि, मन्त्रालयमा दर्ता गर्ने केही प्लेटफर्महरू भने नेपालमा सञ्चालन गर्न पाउनेछन्। अहिलेसम्म केवल टिकटक, वाइबर, निम्बज, विटक र पोपो लाइभले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरिसकेका छन्। यी प्लेटफर्महरू नेपालमा कानूनी रूपमा प्रयोग गर्न सकिने छन्।
सरकारको यो निर्णयपछि लाखौँ नेपाली प्रयोगकर्ताको डिजिटल पहुँचमा ठूलो असर पर्ने अनुमान गरिएको छ। सामाजिक सञ्जाल प्रयोगमा कानूनी ढाँचाभित्र ल्याउने उद्देश्यले सरकारले दर्ता अनिवार्य गरेको हो।