टिकटकर किरण साह १६ घण्टामा दुई पटक अस्पताल भर्ना, चिकित्सक भन्छन– ‘गम्भीर समस्या छैन’

वीरगञ्ज — खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमा ‘ज्यान मार्ने धम्की दिएको’ आरोपमा पक्राउ परेकी टिकटकर किरण साह पछिल्ला १६ घण्टामा दुई पटक अस्पताल भर्ना भएकी छिन्। प्रहरी हिरासतमा रहेकै बेला स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति र बुधबार बिहान उनलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएको हो।

पर्सा प्रहरीका डिएसपी किशोर लम्सालका अनुसार मंगलबार राति करिब ८ बजे साहलाई पेट दुख्ने, शारीरिक कमजोरी र ग्यास्ट्रिक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारपछि एक घण्टामै डिस्चार्ज गरेर पुनः प्रहरी हिरासतमा ल्याइएको उनले बताए।

बुधबार बिहान फेरि समस्या देखिएपछि साहलाई बिहान १० बजे अस्पताल लगिएको थियो। करिब तीन घण्टापछि डिस्चार्ज गरिएको डिएसपी लम्सालले जानकारी दिए। नारायणी अस्पतालका आकस्मिक कक्षका चिकित्सक डा. अविनाश श्रीवास्तवका अनुसार मंगलबार राति साहलाई ब्लडप्रेसर जाँच गरेर स्लाइन दिइएको थियो।

बुधबार बिहान अल्ट्रासाउन्ड गरेर हेर्दा गम्भीर समस्या नदेखिएको उनले बताए। ‘सामान्य पेट दुख्ने र ग्यास्ट्रिक समस्या थियो। ठूलो समस्या देखिएन,’ डा. श्रीवास्तवले भने।

साहलाई गत शनिबार मन्त्री यादवका स्वकीय अधिकृतको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई साइबर अपराध, संघीय सांसदलाई धम्की दिने र झुटा अफवाह फैलाउने गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अदालतले दुई पटक तीन–तीन दिन म्याद थपिसकेको छ।

यसबीच, साहको रिहाइको माग गर्दै वीरगन्जमा महिलाहरुले प्रदर्शन गरेका छन् भने सामाजिक सञ्जालमा उनको मुद्दाबारे चर्को बहस भइरहेको छ। केहीले मन्त्री यादवले ‘घट्नालाई अनावश्यक ठूलो बनाएको’ भन्दै आलोचना गरेका छन् भने केहीले ‘साहले कानुनी सजाय पाउनैपर्छ’ भन्ने धारणा राखेका छन्।
मन्त्री यादवले भने टिकटकर साह पक्राउ परेको विषयमा आफनो नाम नजोड्न आग्रह गर्दै उनीप्रति आफूले पूर्वाग्रह नराखेको बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री यादवले आफूलाई फोनमा धम्की दिने ती महिलालाई पर्सा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको तर त्यसप्रति आफ्नो कुनै पूर्वाग्रह नभएको बताएका हुन्।

‘हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला,’ उनले लेखेका छन्। मन्त्री यादवले ती महिलाले आफन्त अस्पतालमा भएकाले पीडाको आक्रोश पोखेको आकलन गरे पनि वास्तविकता त्यस्तो नपाइएको बताएका छन्।

करिब तीन महिनाअघि पनि साहले सांसद प्रभु साहलाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेकी थिइन्। त्यतिबेला भने कानुनी प्रक्रिया अघि नबढ्दा विषय त्यत्तिकै टुंगिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट