जेन–जीप्रति ओलीको प्रश्नः खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा सरकार र जेनजी आन्दोलन दुवैप्रति धारिलो अभिव्यक्ति दिएका छन्।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा भइरहेको गतिविधिप्रति चिन्ता व्यक्त गर्दै आवेगमा नआउन आग्रह गरे। उनले भने, ‘जेनजी घरैपिच्छे छन्, घरघरमै छन्। केहीलाई गुमराहमा राखिएको छ। तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ। तर यसरी नै आगजनी गर्दै, होटल र ऐतिहासिक सम्पदा जलाउँदै जाने हो भने खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्न।’
उनले युवा पुस्तालाई हिंसात्मक बाटो छाड्न सुझाव दिँदै ‘आवेगमा नआउनुहोस्’ भने। ओलीले सरकारको हालैको पासपोर्ट रोक्का गर्ने तयारीलाई पनि प्रहार गरे। ‘सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने भन्ने कुरा पनि उठाइएको छ। के ठानेको छ ? हामी यो हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौं?’ उनले प्रश्न गरे।
उनले आफ्नो नेतृत्वमा बनेको दलले देशलाई संवैधानिक र लोकतान्त्रिक मूलधारमा फर्काउने दाबीसमेत गरे। त्यस्तै, अध्यक्ष ओलीले सरकारले सुविधा फिर्ता गर्ने, गाडी खोस्ने वा पासपोर्ट रोक्ने कुरा गरे पनि सुरक्षा भने दिनैपर्ने बताए।
उनले सामाजिक सञ्जालमा आफ्नो निजी घरको लोकेसन सार्वजनिक गर्दै ‘ओलीको घर घेर्न जाऔं’ भन्ने धम्कीप्रति संकेत गर्दै सरकारमाथि प्रश्न उठाए। ‘अहिले तपाईंहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, मेरो घर लोकेट गरेर घेर्न जाऔं भनेर देखाइएको छ। सरकार के हेरेर बसिरहेको छ?’ ओलीको प्रश्न थियो।
उनले थपे, ‘सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा हाल्छु भनेर सरकार कर्तव्यविहीन बन्न पाइन्न। सुरक्षा दिने भने सरकारको बाध्यता हो।’ अन्तिममा ओलीले मौसमलाई उदाहरण दिँदै आशावादी संदेश पनि दिए। ‘मौसम पनि सधैं एकनास हुँदैन। झरी बादलपछि फेरि मुसुक्क हाँस्छ,’ उनले भने।
भक्तपुरको कार्यक्रममा दिइएको उनको लामो सम्बोधनलाई विश्लेषकहरूले तीन कोणमा व्याख्या गरेका छन् — जेनजी आन्दोलनलाई शान्तिपूर्ण बाटोमा फर्काउने आग्रह, सरकारप्रति असन्तुष्टि, र व्यक्तिगत सुरक्षाप्रतिको चिन्ता।