एमालेका युवा नेता भट्टराईको टिप्पणीः सेना मीर जाफरमा परिणत भएपछि दुनियाँको कुनै सरकार सुरक्षित हुँदैन

काठमाडौँ— नेकपा एमालेका युवा नेता गुरु प्रसाद भट्टराईले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नेपाली सेनाले आफ्नो कर्तव्य पुरा नगरेको आसयसहित कडा आलोचना गरेका छन्। उनले सेनालाई ऐतिहासिक विश्वासघातको प्रतीक मानिने मीर जाफर र मीर कासिमसँग तुलना गर्दै ‘हथियार मनोरञ्जनका लागि दिएको हो?’ भन्ने प्रश्न समेत उठाएका छन्।
भट्टराईले देश जलिरहँदा सेनाले प्रहरी र स्थानिय सुरक्षा संरचनासमेत बचाउन नसकेको भन्दै असन्तोष जनाएका छन्। ‘म सेना सडकमा किन आएन भनेर भन्दिन, तर सेनाको सुरक्षामा रहेका सम्पत्ति किन जलाउन दिइयो?’ भन्दै उनले प्रश्न उठाएका छन्।
भट्टराईले सेनाको निष्क्रियतालाई ऐतिहासिक दृष्टान्तसहित तुलना गर्दै भने, ‘अबदेखि बिना हातहतियारको सेना पालौं, हतियार मनोरञ्जनका लागि दिएको हो? म ब्यारेक हान्न गएँ भने सेनाले मसँग आत्मसमर्पण गर्ने रहेछ हैन?’
मीर जाफर र मीर कासिमको सन्दर्भ
मीर जाफरको जीवन उथलपुथल र अवसरवादले भरिएको छ। उनी बङ्गालका तत्कालीन शासक नवाब अलिवर्दी खानको सेनामा एक साधारण सिपाहीको रूपमा भर्ती भएका थिए। आफ्नो चलाखी र वाकपटुताले छिट्टै पदोन्नति पाएर नवाबको नजिक पुगे। अलिवर्दी खानले आफ्नी भतिजीको विवाह पनि मीर जाफरसँग गराए। उनले त्यो सम्बन्धलाई नै उपयोग गर्दै विश्वास जिते। तर मीर जाफरको मनमा ठूलो महत्वाकांक्षा थियो– आफू बङ्गालको नवाब बन्ने।
अलिवर्दी खानको मृत्यु (सन् १७५६) पछि उनको नाति सिराजुद्दौलाह २३–२४ वर्षको उमेरमा नवाब बने। अनुभवहीन नवाबका रूपमा सिराजुद्दौलाहले आन्तरिक विरोध र दरबारभित्रको असन्तुष्टिको सामना गर्नुपर्यो। दरबारमा हिन्दू अफिसियालसँग दरार, प्रशासकीय अस्थिरता र केही धनी व्यापारी तथा अफिसरहरूको अंग्रेजी प्रभाव बढ्दा बङ्गालमा राजनीतिक वातावारण झन् पेचिलो भयो। यसैबीच सेनापति मीर जाफर र अरू केही प्रमुख नेताहरू अंग्रेज अफिसर रबर्ट क्लाइभको प्रभावमा पर्न थाले।
रबर्ट क्लाइभ र इष्ट इन्डिया कम्पनीका योजना स्पष्ट थिए– बङ्गालमा आफ्नो प्रभाव जमाउने, व्यापार रक्षा गर्ने र अन्ततः राजनीतिक प्रभुत्व स्थापित गर्ने। त्यसको लागि सिराजुद्दौलाहलाई हटाउनु आवश्यक थियो। स्थानीय शक्तिहरूमा असन्तुष्टि र र आफ्ना भनिएकाहरु नै घात गर्ने प्रतिक्षामा थिए—कोषाध्यक्ष राय दुर्लभदेखि व्यापारी जगतसित सम्वन्धित ओमिचन्दसम्मले अंग्रेजको साथ लिन थाले। यस्तै अवस्थामा मीर जाफरले अंग्रेजहरूसँग मिलेर षड्यन्त्र रचे।
प्लासीको मैदानमा १७५७ मा इष्टइण्डिया कम्पनीसँग युद्ध भयो। सिराजुद्दौलाहको विशाल सेना (करिब ५० हजार) तयार थियो। तर सेनापति मीर जाफर र अन्य उच्च अधिकारीले अंग्रेजसँग मिल्ने निर्णय गरे। युद्धको क्रममा मीर जाफरले आफ्नो फौजलाई अंग्रेजसँग मिलाइदिए, जसले बंगाली सेना बिचल्लीमा पर्यो। अन्ततः सिराजुद्दौलाह पराजित भए। पछि सिराजुद्दौलाहको हत्या मीर जाफरका छोरा मीरनले गरेको बताइन्छ। युद्धमा बंगाली पक्षका थुप्रै मारिए, तर अंग्रेजी विजयले भारतमा कम्पनीको राजनीतिक प्रभुत्वको बाटो खुलाइदियो।
प्लासीपछिको समय मीर जाफरका लागि व्यक्तिगत विजय भए तापनि देश र जनताका लागि घातक रह्यो। अंग्रेजहरूबाट व्यापक धन र उपहार लिने क्रममा मीर जाफरले दरबारको सम्पत्ति बेच्नु पर्यो, कम्पनीलाई व्यापक व्यापारिक र प्रशासनिक अधिकारसमेत सुम्पिनुपर्ने अवस्था आयो। फलतः बंगाल, विहार र ओडिसामा अंग्रेज प्रभाव बढ्यो र आर्थिक स्रोतहरूमा कम्पनीको पकड सुदृढ भयो। विपक्षमा रहेर पनि मीर जाफर अन्ततः अंग्रेजहरूको कठपुतलीजस्तो हुन पुगे।
यसै क्रममा मीर कासिमको उदय भयो। मीर कासिम, मीर जाफरकै सेनापतिमा रहेकाबेला अंग्रेजहरूले मीर जाफरलाई हटाएर कासिमलाई नवाब बनाए। मीर कासिमले प्रशासन सुधारको प्रयास गरे। जसले अंग्रेजलाई असन्तुष्ट बनायो। अन्ततः कम्पनी र नवाबबीच द्वन्द्व बढेको र सन् १७६४ को बक्सर युद्धमा कम्पनी विजयी भएपछि मीर कासिम विस्थापित भए।
मीर कासिमको जीवनको अन्त्य दुखद थियो। पुनः नवाब बनाइएपनि उनी आर्थिक र मानसिक रुपमा विछिप्त भए। अफीमको लत र रोगले ग्रस्त भए। सन् १७६५ मा उनको मृत्यु भयो। इतिहासले उनलाई विश्वासघात र देशद्रोहको प्रतीकको रूपमा सम्झियो। मुर्सीदावादको उनको महल अहिले भग्नावशेषका रूपमा छ र त्यसलाई प्रतिकको रूपमा अपमान गर्ने चलन छ।
मीर कासिमले पृथ्वीनारायण शाहको शासनकालमा नेपालको सीमावर्ती भूभागमा आक्रमणको प्रयास गरे। तर नेपाली सेनाले भौगोलिक परिस्थिति, मौसम र सक्षम नेतृत्वको प्रयोग गर्दै मीर कासिमको आक्रमणलाई प्रभावकारी रूपमा पराजित गर्यो।