गृहमन्त्रीलाई प्याकुरेलको चेतावनीः सेना र प्रहरीले दनादन इन्काउण्टर गर्न थाले भने के हुन्छ ?

काठमाडौँ — अधिकारकर्मी सुवोधराज प्याकुरेलले गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै ‘सरकारले जेनजी आन्दोलनको हिंसा र तोडफोडमा संलग्नलाई कारबाही नगर्दा सुरक्षा निकायले कानूनी प्रक्रिया छोडेर दनादन इन्काउन्टर गर्न थाले भने के हुन्छ ?’ भन्दै प्रश्न गरेका छन्।

प्याकुरेलले सोमबार सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै यस्तो प्रश्न गरेका हुन। सरकारी निर्णयप्रति तीव्र आक्रोश व्यक्त गरेका उनले भनेका छन्–‘सुरक्षा भन्नेकुरा केवल वर्दी मात्रै होइन। यसमा संरचना, सामाजिक मनोविज्ञान र स्थायित्वको दृष्टिबोध पनि पर्दछ। तर भदौ २४ का अत्याचारका घटनापछि सुरक्षा निकायलाई अपमानित गरी बेमाख पार्नुभयो। अब यस्ता अवस्था फेरि दोहो¥याए भने अस्थिरता सृजना हुनेछ।’

उदाहरणसहित प्याकुरेलले भनेका छन्–‘हिजो मात्र मेरो बिराटनगरस्थित घरमा दिउँसै चोरी भयो। हाम्रो निष्कर्ष छ, जेलबाट भागेका शातिर चोरको काम हो। नागरिकहरू रातभरि आफैं गस्ती गर्न बाध्य छन्। प्रहरी रेटिएका छन्, लुटिएका छन्, अपमानित भएका छन्। यदि अति भयो भने खति हुन्छ।’

भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएका हत्या, आगजनी र तोडफोडका घटनाहरूको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको थियो। गृह मन्त्रालयले आयोगको प्रतिवेदन आउँदासम्म उक्त घटनामा संलग्नहरूमाथि तत्काल कारबाही नगर्न निर्देशन दिएको छ।

तर अधिकारकर्मी र राजनीतिक विश्लेषकहरूले सरकारको कदमको आलोचना गर्दै ‘आन्दोलनको नाममा हिंसा गर्नेलाई उन्मुक्ति दिनु लोकतान्त्रिक राज्यका लागि खतरनाक सन्देश हो’ भनेका छन्। प्याकुरेलका अनुसार, ‘यदि सरकारले न्यायिक प्रक्रिया र सुरक्षा निकायको जिम्मेवारी दुवैलाई कमजोर पार्छ भने, भविष्यमा सुरक्षा निकायले आफ्नो अधिकारको दुरुपयोग गर्ने वा स्वतन्त्र निर्णयमा हिंसा प्रयोग गर्ने खतरा बढी हुन्छ।’

प्याकुरेलले प्रहरी र सेना दुवैको मनोबल घटेको उल्लेख गर्दै त्यस्ता परिस्थिती दोहोरिए भने परिणाम जटिल हुने चेतावनी दिएका छन्। ‘२३ गते सुरक्षा निकायलाई ‘आफूलाई जोगाऊ’ भन्ने सन्देश दिइयो। विप्लव र अन्य समूहले प्रवेश गर्दा सुरक्षा निकायले रोक्न सकेन। यदि भविष्यमा यस्ता परिस्थिति दोहोरिए भने परिणाम जटिल हुन सक्छ।’

‘कानुनको शासन केवल अदालत र अभियोजनको प्रक्रिया मात्र होइन, सुरक्षा संरचना र त्यसको जिम्मेवारीको स्थायित्व हो। यदि यसलाई अव्यवस्थित पारियो भने मुलुक अस्थिरतामा फस्ने निश्चित छ।’– उनले भनेका छन्।

भदौ २४ गते भएको अत्याचार (हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट, बलात्कार प्रयास) को योजनाकार नै गृहमन्त्री अर्याल नै भएको उनले आरोप लगाएका छन्। ‘तपाई भदौ २४ को अत्याचारको योजनाकार मध्ये हुनुहुन्छ भने, तर्क गर्नुको अर्थ छैन। तर अहिले प्रहरीलाई उनीहरुको जिम्मेवारीबाट जसरी बेमाख पार्नुभएको समाचार छ, र केही अभियुक्तलाई प्रहरीले छोड्नु परेको समाचार छ, त्यसले यो सिङ्गो मन्त्रीमण्डलको साख यति चाँडै धूलधुसरित पारेको देखेर म दुखिमात्र होइन आक्रोशित पनि छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *