इजरायल र हमास युद्धविरामको उज्यालोमा पनि विपिन अन्धकारमै, छैन सूचिमा नाम

काठमाडौँ — इजरायल र हमासबीच दुई वर्षपछि अन्ततः युद्धविराम सहमति भएको छ। अमेरिकाको मध्यस्थतामा भएको यो सम्झौताले बन्धक बनेका आफ्ना प्रियजन अब फर्कने आशमा सयौं परिवारमा खुसी थिए। तर, यो उज्यालोमा पनि कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अन्धकारमा परेको छ।

हमासले बिहीबार राति सार्वजनिक गरेको पहिलो चरणको नामावलीमा २० जना युद्धवन्दीको सूची थियो। तर, ती सबै इजरायली नागरिक नै निस्किए। नेपालका विपिन जोशीको नाम त्यस सूचीमा परेन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले नामावली सार्वजनिक भएपछि पुष्टि गरे, ‘विपिनको नाम सूचीमा छैन। उनको अवस्थाबारे अहिलेसम्म कुनै ठोस जानकारी आएको छैन, तर हामी निरन्तर इजरायली अधिकारीहरूसँग सम्पर्कमा छौं।’

राजदूतका अनुसार सोमबारभित्र छोडिने भनिएका सबै युद्धवन्दीहरू इजरायली नागरिक हुन्। उनले भने, ‘हामीलाई इजरायली सरकारको तर्फबाट खबर आएको छ— विपिनको बारे जुनसुकै बेला सूचना आउन सक्छ, त्यसका लागि परिवार तयार रहोस्।’

कञ्चनपुरका विपिन जोशी सन् २०२३ मा अध्ययनका लागि इजरायल पुगेका थिए। अक्टोबर ७ का दिन हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिए। त्यही भिडन्तमा विपिनलाई हमास लडाकुहरूले आफूसँगै अपहरण गरी गाजातर्फ लगेका थिए।

उनलाई अन्तिमपटक २०२३ नोभेम्बर १७ मा गाजाको अल–शिफा अस्पतालमा देखिएको थियो। त्यसपछि उनको कुनै अत्तोपत्तो छैन। केही दिनअघि सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि पुरानो फुटेज भएको राजदूत पण्डितको भनाइ छ।

नेपालस्थित जोशी परिवारका लागि यो वर्ष प्रतीक्षाको पीडादायी चक्र बनेको छ। युद्धविरामले विश्वका धेरै परिवारमा राहतको सास भरेको बेला, उनीहरूको रात अझै उस्तै लामो छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, विपिनको अवस्थाबारे ‘जुनसुकै बेला सूचना आउनसक्ने’ खबर आएको छ, तर ठोस प्रमाण भने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट