हत्या आरोपमा अध्यक्ष फरार भएपछि राजगढ गाउँपालिकामा अदालतको हस्तक्षेप, उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

राजविराज— हत्या आरोपमा फरार अभियुक्त भएको खुलासापछि अध्यक्ष सम्पर्कविहिन भएको सप्तरीको राजगढ गाउँपालिकामा अदालतले उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको छ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको अन्तरिम आदेशपछि उपाध्यक्ष रेणुदेवी मण्डलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी छिन्। अदालतले गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले वडाध्यक्षलाई दिएको कार्यवाहक अध्यक्षको पत्र गैरकानुनी ठहर गर्दै उपाध्यक्षलाई नै कार्यवाहक अध्यक्षको अधिकार सुनिश्चित गरेको हो।

आइतबार न्यायाधीश उज्ज्वल शुक्लको एकल इजलासमा भएको सुनुवाइले अध्यक्ष मण्डलले वडा नम्बर ४ का अध्यक्ष अशोककुमार साहलाई दिएको कार्यवाहकको पत्र कानुनविपरीत भएको ठहर ग¥यो। अध्यक्ष मण्डल रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या प्रकरणका अभियुक्तसमेत रहेको र कार्यवाहकको पत्र दिएर फरार बनेपछि उपाध्यक्ष मण्डल अदालत पुगेकी थिइन्।

उपाध्यक्ष मण्डलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) को खण्ड ख(२) अनुसार अध्यक्ष अनुपस्थित वा असमर्थ अवस्थामा उपाध्यक्षले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने कानुनी व्यवस्था रहेको दाबी गर्दै अदालतमा निवेदन दिएकी थिइन्। अध्यक्षले भने सो ऐनको दफा १८(२) उल्लेख गरी वडाध्यक्षलाई कार्यवाहक तोकेको पत्र जारी गरेका थिए।

अदालतले उक्त पत्रले कानुन उल्लङ्घन गरेको ठहर गर्दै उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी वहन गर्न कुनै किसिमको अवरोध नगर्न–नगराउन विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष ओमप्रकाश मण्डलले गत कात्तिक १७ गते मंसिर १९ देखि लागू हुने गरी वडाध्यक्ष साहलाई कार्यवाहक अध्यक्षको पत्र दिएका थिए। तर अदालतको आदेशसँगै उक्त निर्णय बदर भएको छ र अब गाउँपालिकाको प्रशासनिक तथा कार्यकारी जिम्मेवारी उपाध्यक्ष मण्डलले सम्हाल्ने बाटो खुलेको छ।

उता, अध्यक्ष मण्डल जोडिएको हत्या मुद्दाको पृष्ठभूमि पनि गम्भीर छ। ३ साउन २०५५ मा तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो। सो घटनामा अध्यक्ष मण्डलसहित सात जनाविरुद्ध अभियोग दायर गरिएको थियो।

अदालतले जारी गरेको म्यादभित्र अभियुक्तहरू उपस्थित नहुनु र प्रहरीले पनि पक्राउ नगरेपछि जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन २०७९ मा मुद्दा मुलतबीमा राखेको थियो।

हत्या प्रकरणमा संलग्न रहेको अभियोगपत्रमा अध्यक्ष मण्डलका बुवा तत्कालीन गाविस अध्यक्ष गंगाराम मण्डल, रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, ‘बौकाई’ भनिने बच्चा यादव र भोलिचन सदा मुसहरको नामसमेत उल्लेख छ। अभियोगपत्र अनुसार मन्दिरको ११ बिघा जग्गाबाट आएको धान मन्दिरलाई नदिने विवादका क्रममा पुजारी बैरागीको हत्या गरिएको आरोप लगाइएको छ।

१५ वैशाख २०७८ मा पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा पनि ओमप्रकाश मण्डल ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित भएको करिब १० महिनापछि मात्रै मुद्दा मुलतबीमा राखिएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट