झापामा ‘सनातन सुरक्षा सेना’को आतंकः शंकास्पद भनिएको झोलामा प्रेसर कुकर र पर्चा, सेनाद्वारा निस्कृय
दमक— पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ मा पर्ने माई खोला पुल नजिक शनिबार बिहान फेला परेको शंकास्पद वस्तुले केही समयका लागि पूरै क्षेत्रलाई त्रासको माहोलमा धकेल्यो।
कालो झोलाभित्र प्रेसर कुकर र तार देखिएपछि स्थानीय मात्र होइन, राजमार्ग प्रयोग गर्ने यात्रुहरू पनि आतंकित बने। सूचना पाएलगत्तै प्रहरी र नेपाली सेना सक्रिय भए र अन्ततः उक्त वस्तु निष्क्रिय पारियो। तर वस्तु विस्फोटक नभए पनि घटनाले उठाएका राजनीतिक र सुरक्षासम्बन्धी प्रश्नहरू भने गम्भीर छन्।
शनिबार बिहान करिब साढे छ बजे राजमार्गको पुलछेउ सडक किनारमा शंकास्पद झोला देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई खबर गरेका थिए। प्रहरी टोली तत्काल घटनास्थल पुगेर राजमार्गको उक्त खण्ड सिल गरी सुरक्षा घेराबन्दीमा राख्यो। प्रेसर कुकर र त्यससँग जोडिएको तार देखिनु सामान्य घटना थिएन, त्यसैले कुनै जोखिम नलिँदै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो।
चारआलीस्थित श्री अरिदमन गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान करिब १० बजे उक्त झोलालाई सुरक्षित स्थानमा लगेर निष्क्रिय पारेको झापा प्रहरीले जनाएको छ। डिस्पोज गर्ने क्रममा ठूलो आवाज निस्किएको थियो, जसले वस्तु विस्फोटक जस्तै देखिने गरी जानाजानी राखिएको हुन सक्ने आशंका बलियो बनाएको छ।
सेनाको प्रारम्भिक जाँच अनुसार झोलाभित्र कुनै सक्रिय विस्फोटक पदार्थ भने थिएन, तर प्रेसर कुकर, तार र अन्य सामग्री सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले राखिएको स्पष्ट संकेत देखिन्छ।
घटनास्थलबाट ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा र घोषणापत्रहरू फेला परेपछि घटनाले थप गम्भीर मोड लिएको छ। ती पर्चामा राजसंस्थाको पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, वर्तमान राजनीतिक व्यवस्थाको विरोध तथा माग पूरा नभए आगामी निर्वाचन बहिष्कार गर्ने चेतावनी उल्लेख छ।
विस्फोटक नभए पनि राजनीतिक सन्देशसहितको शंकास्पद वस्तु राजमार्ग किनारमा राखिनु सामान्य विरोध प्रदर्शन होइन, यो प्रत्यक्ष रूपमा त्रास सिर्जना गर्ने प्रयास हो। प्रहरीका अनुसार, घटनाको उद्देश्य सर्वसाधारणमा डर फैलाउने र राजनीतिक दबाब सिर्जना गर्ने हुन सक्ने अनुमान गरिएको छ।
देश निर्वाचनतर्फ उन्मुख भइरहेका बेला यस्ता गतिविधिले शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। शंकास्पद वस्तु विस्फोटक नहुनु राहतको विषय भए पनि यदि समयमै सूचना नपाएको भए वा लापरबाही भएको भए ठूलो दुर्घटना हुन सक्थ्यो भन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।
शंकास्पद वस्तु निष्क्रिय पारिएपछि अहिले माई खोला पुल क्षेत्रको जनजीवन र पूर्व–पश्चिम राजमार्गको यातायात सामान्य बनेको छ। तर घटनाले देखाएको चेतावनी स्पष्ट छ— राजनीतिक माग राख्ने नाममा आतंकको शैली अपनाउने प्रवृत्ति बढ्दै गयो भने त्यसको मूल्य सर्वसाधारणले तिर्नुपर्नेछ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी र ‘सनातन सुरक्षा सेना नेपाल’ नाम प्रयोग गरिएको समूहको पृष्ठभूमिबारे गहिरो अनुसन्धान थालेको जनाएको छ।


