सईको सिरानीमुनिबाटै हरायो ७ राउण्ड गोलीसहितको सरकारी पेस्तोलः सईदेखि सहयोगीसम्म अनुशन्धानमा

वीरगन्ज— बाराको सीमावर्ती क्षेत्रबाट सरकारी पेस्तोल नै रहस्यमय ढंगले गायब भएको घटनाले मधेस प्रदेश प्रहरीको आन्तरिक सुरक्षा, अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ। इलाका प्रहरी कार्यालय कवही गोठका तत्कालीन इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रको साथबाट सात राउन्ड गोलीसहितको ९ एमएम सरकारी पेस्तोल हराएको तथ्य एक सातापछि मात्रै सार्वजनिक भएपछि प्रहरी संयन्त्रभित्रै हलचल मच्चिएको छ।

घटना बाहिरिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले कठोर कदम चाल्दै कवही गोठमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना सम्पूर्ण प्रहरी कर्मचारीलाई तानेर प्रदेश कार्यालयमा राखी छानबिन सुरु गरेको छ। सो युनिटमा अहिले वैकल्पिक प्रहरी टोली खटाइएको छ। सरकारी हतियार हराउने जस्तो संवेदनशील घटनामा प्रारम्भिक प्रतिक्रिया ढिलो आउनु र विवरणहरू एकआपसमा बाझिनुले प्रकरणलाई झनै शंकास्पद बनाएको छ।

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनास्थलको स्थलगत अनुगमन, सम्बन्धित प्रहरीको सोधपुछ र कागजात अध्ययन गरिसकेको छ भने अनुसन्धानको दायरा विस्तार गर्दै सूक्ष्म तहसम्म पुग्ने तयारी गरेको जनाएको छ।

छानबिनका क्रममा पेस्तोल कार्यालयमै सुतिरहेको बेला सिरानीमुनिबाट हराएको, गस्तीका क्रममा बाटोमै हराएको, वा सीमावर्ती क्षेत्रमा सक्रिय तस्कर समूहले खोसेको हुन सक्ने जस्ता परस्पर विरोधी कथनहरू आएको समितिको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार घटना गत पुस ११ गते राति करिब ११ बजे भएको हो। सई मिश्र सीमावर्ती सतगञ्ज गाउँ क्षेत्रबाट गस्ती सकेर फर्किएपछि पेस्तोल सिरानीमा राखेर सुतेको र बिहान उठ्दा हतियार नदेखिएको प्रारम्भिक विवरण छ। हराएको पेस्तोल सीएफ–९८ मोडलको ९ एमएम हतियार हो, जसमा सात राउन्ड गोली लोड गरिएको अवस्थामा थियो। तर, यही घटनाबारे सई मिश्रले फरक–फरक बयान दिएको तथ्य बाहिरिएपछि प्रहरी नेतृत्व स्वयं आशंकित देखिएको छ।

प्रदेश प्रहरी स्रोतका अनुसार प्रारम्भिक सोधपुछमा मिश्रले कहिले गस्तीका क्रममा हराएको त कहिले ब्यारेकबाटै हराएको दाबी गरेका छन्। यस्ता विरोधाभासी बयानले घटना साधारण लापरबाही मात्र नभई गम्भीर आपराधिक वा मिलेमतोको आशङ्का तर्फ मोडिएको छ। सीमावर्ती क्षेत्र भएकाले तस्कर समूहले हतियार खोसेर लगेको हुन सक्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ, यद्यपि प्रहरीले यसलाई औपचारिक रूपमा पुष्टि गरेको छैन।

छानबिन समितिका संयोजक एसपी रिजालले सबै प्रहरी कर्मचारीलाई अलग–अलग राखेर बयान लिइँदै गरेको र दोषी देखिए जोसुकै भए पनि कडा विभागीय तथा कानुनी कारबाही हुने स्पष्ट पारेका छन्। उनका अनुसार घटनाले उठाएका सबै प्रश्नको जवाफ प्रमाणका आधारमा सार्वजनिक गरिनेछ।

सरकारी सुरक्षाकर्मीको हातमै रहेको हतियार सुरक्षित नरहनु केवल एक व्यक्तिको गल्तीको विषय होइन, यो समग्र प्रहरी व्यवस्थामाथि गम्भीर धक्का हो। सीमा क्षेत्रमा तस्करी नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र नागरिक सुरक्षा जस्ता जिम्मेवारी बोकेको प्रहरी संगठनभित्रै यति ठूलो चुक हुनु आफैंमा लज्जास्पद मानिएको छ। अबको छानबिनले सत्य तथ्य उजागर नगरे मधेस प्रदेश प्रहरीको विश्वसनीयता र पेशागत नैतिकता माथि थप गहिरो प्रश्नचिन्ह लाग्ने निश्चित देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट