लागु औषध प्रकरणले युवक वेपत्ता, स्थानीयद्वारा प्रहरी चौकीमा आक्रमण, सम्पर्कविहीन भनिएका प्रहरी सम्पर्कमा
काठमाडौँ– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करोपगार्ड इलाका प्रहरी कार्यालयमा भएको तोडफोड र आक्रमणपछि सम्पर्कविहीन भएका भनिएका प्रहरीहरू पुनः सम्पर्कमा आएका छन्।
प्रशासनले ‘सुरक्षाका कारण सुरक्षित स्थानमा बसेका’ भन्दै प्रहरी सम्पर्कमा आएको दाबी गरे पनि घटनाले डोल्पामा प्रहरीको कार्यशैली, जवाफदेहिता र मानवअधिकारप्रति गम्भीर प्रश्न खडा गरेको छ।
सीडीओ भीमराज कोइरालाका अनुसार, आक्रमणका क्रममा हातहतियार सुरक्षित राख्न केही प्रहरी सुरक्षित स्थानमा गएका थिए। अवस्था केही सामान्य बनेपछि शनिबार रातिनै ती प्रहरी सम्पर्कमा आएको प्रशासनको भनाइ छ। तर स्थानीयवासीले भने प्रहरी सम्पर्कविहीन हुनु नै घटनाको संवेदनशीलता र अविश्वासको संकेत भएको प्रतिक्रिया दिएका छन्।
घटनाको केन्द्रमा ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया छन्, जो गत शुक्रबार प्रहरी चेकिङका क्रममा ठूलीभेरी नदीमा बेपत्ता भएका थिए। प्रहरीको आधिकारिक भनाइअनुसार लागुऔषध ओसारपसारको आशंकामा छेप्के पुलमा जाँच गर्न खोज्दा रोकाया आफैं नदीमा हामफाले। तर स्थानीयवासीले यो दाबीलाई अस्वीकार गर्दै प्रहरीले लखेटी–लखेटी नदीमा खसालेको गम्भीर आरोप लगाएका छन्।
यही विरोधाभासका कारण आक्रोशित स्थानीयले शनिबार साँझ करोपगार्ड प्रहरी चौकीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट चौकीमा तोडफोड भएको छ भने केही प्रहरी घाइते भएको जनाइएको छ। घटनापछि डोल्पाको सुरक्षा अवस्था झन् संवेदनशील बनेको छ।
रोकायाको अवस्था हालसम्म अज्ञात छ। नदीमा बेपत्ता भएका उनको खोजी जारी रहेको बताइए पनि परिवार र स्थानीयले खोजी प्रयास प्रभावकारी नभएको गुनासो गरिरहेका छन्। बेपत्ता युवकको ज्यानको जिम्मेवारी कसले लिने भन्ने प्रश्न झन् बलियो बन्दै गएको छ।
घटनाको दबाबपछि प्रशासनले छानबिन प्रक्रिया अघि बढाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। साथै करोपगार्ड इलाका प्रहरी कार्यालयका सबै १० जना प्रहरीलाई जिल्ला सदरमुकाम तानिएको छ। युवक बेपत्ता घटनासँग प्रत्यक्ष रूपमा जोडिएका चार जना प्रहरीमाथि छुट्टै अनुसन्धान भइरहेको प्रशासनको भनाइ छ।
प्रशासनले स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्दै वार्ताको प्रयास भइरहेको बताएको छ। निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरिए पनि अघिल्ला यस्ता घटनाहरूमा न्याय नपाएको अनुभव बोकेका स्थानीय भने अझै सन्तुष्ट देखिँदैनन्।
घटनाको विरोधमा ल्हाँ गाउँका बासिन्दाले डोल्पामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। यसले जिल्लाको जनजीवन प्रभावित बनेको छ। बेपत्ता युवकको सत्य सार्वजनिक नभएसम्म आन्दोलन नरोकिने स्थानीयको चेतावनी दिएका छन्।
लोकप्रिय
सिरहामा तीन दशकदेखि बसेको मुसहर बस्ती उठाउने षड्यन्त्रः वडासदस्यकै मुद्दा र धम्कीले भूमिहीन पीडित त्रसित

