श्रीमतीलाई जलाउन खोजेको आरोपमा अर्जुनधाराका डम्बर पक्राउ

दमक— झापाको अर्जुनधारामा घरेलु विवादले भयावह रूप लिँदा श्रीमतीलाई जिउँदै जलाउन खोज्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीलाई कुटपिट गरी आगोमा घिसारेर हाल्ने प्रयास गरेको आरोपमा अर्जुनधारा नगरपालिका–४ भाङबारीका ४० वर्षीय डम्बर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंगलबार राति करिब १० बजे डम्बर र उनकी श्रीमती ४२ वर्षीया मेनुका परियार गुरुङबीच सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किँदै हिंसामा परिणत भएको थियो। विवादकै क्रममा डम्बरले श्रीमतीमाथि हातपात गर्दै कुटपिट गरेका थिए। त्यसपछि उनलाई घिसारेर आगोमा जलाउन खोजेको आरोप लागेको छ।

घटनामा मेनुका घाइते भएकी छन्। उनको ढाड, अनुहार, घुँडा र हातमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था भने हाल सामान्य रहेको र उपचारपछि स्वास्थ्यमा खतरा नरहेको बताइएको छ।

घटनापछि पीडित पक्षले प्रहरी चौकी शनिश्चरेमा लिखित उजुरी दिएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। उजुरीका आधारमा आरोपी परियारलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट