एनआईसी एसिया बैंकभित्र आत्मदाह गर्न पुगेका ऋणीको विस्फोटः ‘कर्मचारीको साठगाँठले मलाई बाँच्नै नसक्ने बनायो’

इटहरी– सुनसरीको इटहरीस्थित धरान रोडमा रहेको एनआईसी एसिया बैंकको शाखामा सोमबार भएको घटनाले बैंकिङ प्रणाली, ऋण स्वीकृति प्रक्रिया र पीडितप्रतिको राज्य व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ। बैंकले आफ्ना सम्पत्ति लिलाम गर्ने प्रक्रिया अघि बढाएको भन्दै आक्रोशित बनेका एक ऋणीले बैंकभित्रै आत्मदाहको प्रयास गरेपछि इटहरी तनावग्रस्त बन्यो।

इटहरी–५, नेपाल टेलिकम पछाडि बस्ने लालबहादुर पौडेलले सोमबार दिउँसो एनआईसी एसिया बैंकको शाखा प्रबन्धकको कार्यकक्षमै पुगेर आत्मदाह गर्ने प्रयास गरेका थिए। मिनरल वाटरको बोतलमा पेट्रोल बोकेर बैंक प्रवेश गरेका पौडेलले बैंक कर्मचारी र इटहरीकै व्यवसायी गंगाराम साह तेलीको मिलेमतोमा आफूलाई ‘मर्नु न बाँच्नुको अवस्था’ मा पु¥याइएको गुनासो गर्दै आत्महत्याको प्रयास गरेका थिए।

घटनाका क्रममा पौडेलले आफूमाथि भएको अन्याय सुनाउँदै आफ्नै शरीरमा पेट्रोल छर्किन थालेपछि बैंकभित्र भाडदौड मच्चिएको थियो। शाखा प्रबन्धकको कोठामै पुगेको संकटपूर्ण अवस्थामा नागरिक बचाउ अभियानसँग सम्बद्ध केही अभियन्ता र बैंकका कर्मचारीले समयमै हस्तक्षेप गरी उनलाई आगो लगाउनबाट जोगाएका थिए। एक क्षण ढिला भएको भए ठूलो मानवीय क्षति हुन सक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ।

पौडेलका अनुसार व्यवसायी गंगाराम साह तेलीले झापामा रहेको एक मदिरा उद्योग देखाएर आफ्नै नाममा एनआईसी एसिया बैंकबाट दुई करोड रुपैयाँभन्दा बढी ऋण निकाले र त्यो रकम आफूले चलाएको दाबी गरेका छन्। ‘बैंकका कर्मचारीसँगको मिलेमतोमा मलाई ‘कागजी ऋणी’ बनाइ घरेलु उद्योग कार्यालयमा खाजा घर दर्ता गराइयो, छापसम्म बैंककै कर्मचारीले मिलाइदिए’, पौडेलले भने।

ऋण स्वीकृत भएको दिन नै आफ्नो खाताबाट ९५ लाख रुपैयाँ गंगारामलाई सिधै ट्रान्सफर गरिएको पौडेलको आरोप छ। ‘म सोझो मान्छे हुँ, ३२ वर्ष विदेश धाएर कमाएको सम्पत्ति एकैछिनमा सकियो,’ पौडेलको पीडा छ, ‘न जागिर छ, न व्यवसाय। कागजमा खाजा घर देखाएर ऋण निकालियो, पैसा अर्कैले चलायो, किस्ता नतिरेपछि मेरो सबै सम्पत्ति बैंकले लिलाममा राख्यो।’
उनले आफूलाई डुबाउने काममा बैंक कर्मचारीकै संलग्नता रहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उनका अनुसार मुख्य आरोपी गंगाराम साह तेली हाल फरार छन्। यस घटनाको पृष्ठभूमिमा नागरिक बचाउ अभियान पनि सक्रिय देखिएको छ। अभियानका कोशी प्रदेश सचिव शरद तामाङका अनुसार पौडेलले केही समयअघि नै आफ्नो सम्पूर्ण पीडा उल्लेख गर्दै अभियानमा निवेदन दिएका थिए।

‘हामी कार्यालयमै थियौं, पौडेलले बैंक जाने जानकारी दिएका थिए,’ तामाङले भने, ‘हामी पुग्दासाथ उनले आत्मदाह प्रयास गरे, तत्काल रोक्न सफल भयौं। बैंक र केही व्यक्तिको मिलेमतोमा एक सोझो नागरिकलाई अन्याय गरिएको स्पष्ट देखिन्छ।’

तर, आत्मदाहबाट जोगिएका पौडेललाई राहत मिल्नुको साटो उल्टै प्रहरी नियन्त्रणमा लिईएको छ। नागरिक बचाउ अभियानले उनलाई सुरक्षित घर पु¥याएपछि पनि इलाका प्रहरी कार्यालय इटहरीको निर्देशनमा सादा पोशाकका प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर कार्यालय लगेको थियो। यसले ‘पीडितमाथि थप पीडा’ थपिएको भन्दै आलोचना चर्किएको छ।

नागरिक बचाउ अभियानका कोशी संयोजक सरोज सिंहका अनुसार बैंकभित्र आत्मदाह गर्न खोज्नुको कारणबारे गहिरो छानबिन गरी न्याय दिनुपर्नेमा उल्टै पीडितलाई हिरासतमा राख्नु अमानवीय व्यवहार हो। सिंहले पौडेल डिप्रेसन र मुटु रोगका बिरामीसमेत रहेको उल्लेख गर्दै कुनै औपचारिक उजुरीबिनै सामाजिक सञ्जालमा आएको भिडियोका आधारमा नियन्त्रणमा लिनु प्रहरीको ‘दादागिरी’ भएको आरोप लगाए।

यस विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले भने बैंकभित्र ज्वलनशील पदार्थ लैजाँदा आफू तथा अरूको ज्यान जोखिममा परेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्पष्टिकरण दिएका छन्। यद्यपि, नागरिक बचाउ अभियानका अनुसार केन्द्रीय संयोजक दुर्गा प्रसाई र डीएसपी हमालबीच मंगलबार बिहान पौडेललाई विना शर्त रिहा गर्ने सहमति भइसकेको छ। सहमति कार्यान्वयन नभए इटहरीमा प्रहरीविरुद्ध आन्दोलन चर्काउने चेतावनीसमेत अभियानले दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट