हिमाचलमा सिलिण्डर विस्फोटसँगैको आगलागीमा जलेर दुई नेपाली परिवार खरानी, बालबालिकासहित ९ जनाको मृत्यु
काठमाडौँ– भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटले सल्यानका दुई परिवारका नौ जनाको एकैपटक ज्यान लिएको छ। रोजगारीका लागि भारत पुगेका सिद्धकुमाख गाउँपालिका–२, टाकुराका ती परिवारको मृत्युले सिंगो गाउँ शोकमा डुबेको छ।
हिमाचल प्रदेशको सोलान जिल्लाअन्तर्गत अर्की बजारमा पुस २७ गते राति ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी हुँदा उक्त दुर्घटना भएको हो। आगलागी उनीहरू सुतिरहेको कोठामै सुरु भएको र त्यहाँ राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएको स्थानीय स्रोतबाट जानकारी आएको छ।
सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार दुर्घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विकको मृत्यु भएको छ। यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकले पनि ज्यान गुमाएका छन्।
वडाध्यक्ष बुढाथोकीका अनुसार विस्फोटपछि आगलागी यति तीव्र थियो कि केही शव जलेर नचिनिने अवस्थामा पुगेका छन्। आगो फैलिँदा वरपरका घरसमेत जलेको बताइएको छ। घटनास्थलमा भारतीय सुरक्षाकर्मीको टोलीले शव संकलनको काम गरिरहेको छ, तर शवहरू अत्यधिक क्षतविक्षत भएकाले संकलनमै कठिनाइ भइरहेको जनाइएको छ।
मृतक धनबहादुर विक र काशीराम विकका परिवार करिब दुई वर्षदेखि रोजगारीका लागि हिमाचल प्रदेशमा बस्दै आएका थिए। उनीहरू अर्की बजार क्षेत्रमा ज्याला मजदुरी गर्दै पसलमाथिको कोठामा परिवारसहित बसोबास गर्दै आएका थिए। कामबाट फर्किएर सुतिरहेको अवस्थामा दुर्घटना भएको आफन्तहरूले बताएका छन्।
दुर्घटनाका बेला नजिकैको अर्को घरमा सुतेका केही आफन्त भने भागेर ज्यान बचाउन सफल भएका छन्। तर एउटै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका–२ यतिबेला गहिरो शोकमा डुबेको छ। वडाले मंगलबार शोक बिदा दिने निर्णयसमेत गरेको छ।
वडाध्यक्ष बुढाथोकीले गाउँमै रोजगारीको व्यवस्था नहुनु नै यस्ता दर्दनाक घटनाको मूल कारण भएको बताए। ‘दुई छाक खानका लागि भारत जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘कहिले दुर्घटना, कहिले आगलागी, कहिले प्राकृतिक विपत्तिमा परेर हाम्रा नागरिक विदेशमै ज्यान गुमाइरहेका छन्।’
हाल मृतकको अन्त्येष्टि भारतमै गर्ने कि नेपाल ल्याउने भन्ने विषयमा हिमाचलस्थित नेपाली समुदाय र आफन्तहरूसँग समन्वय भइरहेको जनाइएको छ। गाउँबाट टाढा, परदेशमा रोजगारीको खोजी गर्दै गएका निर्दोष बालबालिका, महिला र मजदुरहरूको मृत्युले राज्यको रोजगारी नीति र सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठाएको छ।


