धरानको जिरोपोइन्टमा ब्रेक फेल भएर स्कुल बस पल्टियोः पैदलयात्रीसहित ५ जनाको मृत्यु

इटहरी— सुनसरीको धरान–१३ जिरोपोइन्टमा आइतबार दिउँसो भएको भीषण सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। धनकुटातर्फबाट धरान आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस अनियन्त्रित भएर पल्टिँदा ५ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु तथा विद्यार्थी घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका अनुसार ब्रेक फेल भएपछि तीव्र गतिमा गुडिरहेको बस सडक छेउमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिँदै सडक किनारमा पल्टिएको हो। दुर्घटनामा तीन पुरुष र २ महिलाको मृत्यु भएको पुष्टि भएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार बस धनकुटाको पर्यटकीय क्षेत्र भेडेटार आसपासबाट धरानतर्फ आउँदै थियो। दुर्घटनापछि तत्काल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले उद्धार कार्य सुरु गरेका थिए। घाइतेहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ।

बस स्कुल बसका रूपमा प्रयोग गरिएको भनिए पनि हालसम्म बससँग सम्बन्धित कागजात फेला नपरेकाले कुन स्कुलको हो भन्ने खुलेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर वीरेन्द्र सिंहले दुर्घटनास्थलबाट ५ जनाको शव उठाइसकिएको र बसको विवरण तथा स्वामित्वबारे अनुसन्धान जारी रहेको बताए।

प्रारम्भिक जानकारीअनुसार बसमा करिब १३ जना विद्यार्थी सवार थिए, जसमध्ये केही विद्यार्थीको अवस्था गम्भीर छ। प्रत्यक्षदर्शीहरूले दुर्घटनामा लाहुरे ट्रेनिङ सेन्टर तथा केही विद्यालयका विद्यार्थी परेको बताएका छन्, तर प्रहरीले यसबारे आधिकारिक पुष्टि गरिसकेको छैन। मृतकहरूको पहिचानसमेत खुल्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट