उर्लाबारीमा दुई वटा वस ठोक्किँदा १३ जना यात्रु घाइते
विराटनगर — मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारेमा शनिबार दुई वटा यात्रु वस ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्।
पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२६२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ८८३१ नम्बरको बस ठोक्किएका हुन। दुवै बस तीव्र गतिमा रहेका कारण दुर्घटना गम्भिर भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थल केही समय अस्तव्यस्त बनेको थियो। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रञ्जन बरालको नेतृत्वमा घाइतेहरूलाई तत्कालै उद्धार गरी उर्लाबारीस्थित अरनिको अस्पताल पठाईएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबै १३ जनाको अवस्था अहिले सामान्य रहेको छ र केही उपचारपछि अधिकांशलाई घर फर्काइएको छ। घाइते हुनेमा मोरङ, सुनसरी र झापाका विभिन्न स्थानका यात्रुहरू छन्।
घटनापछि प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। बस चालक उर्लाबारी–२ का लेखबहादुर कटवाल र झापाको मेचीनगर–७ का सन्देश सिवाकोटीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
