टंक दाहाल, भाग्य न्यौपाने र हिमेस पन्तको भ्रामक सूचनाले हिंसामा ट्रिगर गरेको कार्की आयोगको निष्कर्ष
काठमाडौं — गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ‘जेन–जी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत फैलाइएका गम्भीर अफवाह र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्दै विस्तृत निष्कर्ष सार्वजनिक गरेको छ।
प्रतिवेदन अनुसार, अमेरिकामा रहेका युट्युबर टंक दाहाल, सुजन ढकाल, भाग्य न्यौपाने र नेपालका चर्चित कलाकार शिव परियार तथा हिमेस पन्तले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी जनमानसलाई भ्रममा पार्ने र आक्रोश भड्काउने काम गरेका थिए।
आयोगले उल्लेख गरे अनुसार भदौ २३ गते चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ वटा शवको कंकाल भेटिएको र भदौ २४ गते वानेश्वर संसद् भवनभित्र ३२ जना प्रदर्शनकारी मृत अवस्थामा फेला परेको दाबी पूर्णतः गलत र कपोलकल्पित थिए। प्रतिवेदनले सामाजिक सञ्जालमार्फत फैलाइएका यी अफवाह अत्यन्त गम्भीर रहेको निष्कर्ष निकालेको छ।
टंक दाहाल, सुजन ढकाल, भाग्य न्यौपाने, शिव परियार र हिमेस पन्तमाथि नियोजित रूपमा भ्रामक सूचना फैलाएको स्पष्ट आरोप प्रतिवेदनमा उल्लेख छ। आन्दोलनका क्रममा एम्बुलेन्स प्रयोग गरी गोली प्रहार गरिएको र प्रधानमन्त्री केपी ओली भागेर दुबई पुगेको भनी प्रचार गरिएको जस्ता गम्भीर अफवाहले तत्कालै तनावपूर्ण वातावरण सिर्जना गरेको पनि प्रतिवेदनले औंल्याएको छ।
‘एक विमान परिचारिकाले हिमालयन एयरलाइन्सबाट प्रधानमन्त्री केपी ओली भागेर दुबई पुगेको र आफैं देखेको भनी भ्रामक प्रचार गरिन्, जसको खण्डनमा हिमालय एयरलाइन्सले प्रेस वक्तव्य जारी गर्नुप¥यो,’ प्रतिवेदनमा भनिएको छ।
राजनीतिक नेतृत्वलाई लक्षित गरी बनाइएका भ्रामक भिडियो र समाचार पनि प्रतिवेदनमा समेटिएका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भीडले घिसारेर पिटिरहेको र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल नदीमा भागिरहेको दृश्य देखाइएका भिडियोहरू पूर्णतः गलत र भ्रामक रहेको आयोगले पुष्टि गरेको छ।
प्रतिवेदनले यस्ता अफवाहले मात्र शान्ति–सुरक्षा खलल पु¥याएको छैन, आर्थिक क्षेत्रमा समेत गम्भीर असर पु¥याएको जनाएको छ। पत्रकार दिलभूषण पाठकले हिल्टन होटलमा शेरबहादुर देउवा र आरजु देउवाका छोरा जयवीर सिंह देउवाको लगानी रहेको भनी तथ्यहीन प्रचार गर्दा होटेलमा अव्यवस्था र झन्झट सिर्जना भएको र यसले वैदेशिक लगानीमा अविश्वास उत्पन्न गरी अर्बौंको आर्थिक क्षति हुने अवस्था सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ।
आयोगले सामाजिक सञ्जालको दुरुपयोग गरी राज्यका जिम्मेवार व्यक्ति र सार्वजनिक सम्पत्तिविरुद्ध भ्रामक सूचना फैलाउने कार्यमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ। प्रतिवेदनले जनमानसमा भ्रम सिर्जना गर्ने, संवेदनशील सूचना फैलाउने र शान्ति–सुरक्षामा खलल पु¥याउने सबै गतिविधि केवल व्यक्तिगत उल्लंघन मात्र नभई राष्ट्रिय सुरक्षा र आर्थिक हितमाथि गम्भीर चुनौती भएको ठहर गरेको छ।
कार्की आयोगले टंक दाहाल, सुजन ढकाल, भाग्य न्यौपाने, शिव परियार र हिमेस पन्तजस्ता व्यक्तिहरूले फैलाएको भ्रामक सूचना र अफवाहले समाजमा भय र अविश्वास सिर्जना गर्ने कार्यमा प्रत्यक्ष भूमिका खेलेको र यस्ता गतिविधि कानुनी रूपमा नियमन गर्न तत्काल कदम उठाउनु आवश्यक रहेको निस्कर्ष निकालेको छ।
