सार्वजनिक बिदाकै दिन पनि अदालत खुलाः पक्राउ र हिरासतसम्बन्धी कार्य रोकिँदैन
राजविराज– सार्वजनिक बिदाका कारण अत्यावश्यक कानुनी प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले सप्तरी जिल्ला अदालतले विशेष व्यवस्था लागू गर्दै बिदाकै दिन पनि सीमित सेवाका लागि अदालत खुला राख्ने निर्णय गरेको छ।
अदालतका स्रेस्तेदार श्यामहरि अधिकारीद्वारा जारी गरेको सूचनाअनुसार नेपाल सरकारले ०८२ चैत २९ गते आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, सूचनामा उक्त दिन अदालत पूर्ण रूपमा बन्द नहुने स्पष्ट गरिएको छ। सर्वोच्च अदालतको सोही मितिको निर्णयअनुसार अत्यावश्यक प्रकृतिका मुद्दासम्बन्धी कार्य सञ्चालनका लागि अदालत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने जनाइएको छ।
सूचनामा विशेषगरी पक्राउ पुर्जी अनुमति, जरूरी पक्राउ पुर्जी अनुमति तथा हिरासतमा राख्ने अनुमति सम्बन्धी कार्यहरू निरन्तर सञ्चालन गरिने उल्लेख गरिएको छ। यस्ता प्रक्रियाहरू अनुसन्धानको संवेदनशील र समयसीमासँग जोडिएका हुने भएकाले सार्वजनिक बिदाको अवस्थामा समेत अवरुद्ध गर्न नहुने कानुनी मर्मअनुसार अदालत खुला राख्ने व्यवस्था गरिएको हो।
अदालत प्रशासनका अनुसार अपराध अनुसन्धानसँग सम्बन्धित यस्ता निर्णयहरू ढिला हुँदा प्रमाण नष्ट हुने, आरोपी फरार हुने वा अनुसन्धान प्रभावित हुने जोखिम रहन्छ। त्यसैले बिदाको दिन पनि आवश्यक न्यूनतम जनशक्ति परिचालन गरी सेवा सुचारु राखिने बताइएको छ।

