वीरगञ्जमा कोठाभित्र म्युजिक बजाएर कुटपिट गरी युवकको हत्या, घर मुलीसहित ४ जना पक्राउ

वीरगन्ज— पर्साको वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार दिउँसो २८ वर्षीय युवकको विभत्स हत्या भएको छ।

श्रीपुरस्थित एक घरभित्र कुटपिट गरेर वीरगञ्जको मुर्लीका २८ वर्षीय विकास चौरसियाको हत्या गरिएको हो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि घरबेटीलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये एक जना महिला र तीन जना पुरुष छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले उनीहरूको परिचय सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार घटनाको नेतृत्व वा संलग्नताबारे विस्तृत अनुसन्धान जारी छ। डीएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्न शंकामा चार जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

स्थानीयका अनुसार घटनास्थलमा दिउँसोदेखि नै शंकास्पद गतिविधि देखिएको थियो। घरभित्र अनौठो चहलपहल, ठूलो स्वरमा बजाइएको संगीत र लगातार सुनिएको झगडाजस्तो आवाजले छिमेकीहरूलाई सतर्क बनाएको थियो।

वीरगन्ज मुर्ली क्षेत्रका बासिन्दा विकास चौरसियाका अनुसार एक बालकले बरण्डाबाट हेर्दा केही व्यक्तिहरू मिलेर एक युवकलाई कुटपिट गरिरहेको दृश्य देखेपछि घटनाको पर्दाफास भएको थियो।

स्थानीयले बारम्बार ढोका खोल्न आग्रह गरे पनि भित्रबाट ढोका बन्द गरिएको कारण तत्काल उद्धार सम्भव हुन सकेन। स्थिति नियन्त्रण बाहिर जान सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलिएको र घटनास्थल नियन्त्रणमा लिइएको बताइएको छ।

त्यसअघि शंकास्पद व्यक्तिहरूलाई स्थानीयले घेराबन्दीमा राखेका थिए भने केही भाग्ने प्रयास गर्दा स्थानीय युवाहरूले लखेटेर पक्राउ गर्न सहयोग गरेको बताएका छन्।

प्रारम्भिक अनुसन्धानले घटनामा गम्भीर कुटपिटपछि युवकको मृत्यु भएको देखाए पनि वास्तविक कारण र घटनाक्रमबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट