जलेश्वरमा आफ्नै कार्यकर्ताको बगावतमा परे अमरेशकुमार सिंहः लगाए ‘मुर्दावाद’को नारा
जनकपुर— आफुलाई जनताको प्रिय दाबी गर्ने राजनीतिक नेतृत्व आफ्नै कार्यकर्तासँग टाढिँदै गएको दृश्य सोमबार महोत्तरीको जलेश्वरमा प्रत्यक्ष देखियो। त्यहाँ आफ्नै पार्टीका कार्यकर्ताले प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहविरुद्ध नाराबाजी गर्दै खुलेआम असन्तोष पोखेका छन्।
सत्ता र संरचनासँग नजिकिने क्रममा आफ्नै आधारभूमिलाई बेवास्ता गरिएको आरोपसहित उठेको यो विरोधले दलभित्रको अन्तरविरोध सतहमै ल्याइदिएको छ। सोमबार जलेश्वरस्थित प्रशासन कार्यालयमा सीडीओ, एसपीसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग छलफलमा व्यस्त रहेका बेला सिंहविरुद्ध रास्वपाकै स्थानीय कार्यकर्ताहरू सडकमा उत्रिएका थिए।
स्थानीय तहका नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सिधै प्रशासनसँग संवादमा गएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्। प्रदर्शनका क्रममा ‘अमरेश सिंह मुर्दावाद’ जस्ता नारा घन्किँदा प्रशासनिक क्षेत्र नै तनावग्रस्त बनेको थियो।
विरोध झन् चर्किँदै जाँदा केही कार्यकर्ताले बैठक कक्षमै प्रवेश गर्ने प्रयास गरेका थिए, तर प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई रोकेको थियो। यस घटनाले केवल असन्तोष मात्र होइन, पार्टीभित्रको अनुशासन, समन्वय र नेतृत्वशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
प्रदर्शनमा स्थानीय नेता प्रकाश पाठकलगायत दर्जनौं कार्यकर्ताहरूको उपस्थिति थियो। उनीहरूले आफ्नो असन्तोषलाई केवल नाराबाजीमा सीमित नगरी नेतृत्वको व्यवहारप्रति स्पष्ट अस्वीकार जनाएका थिए।
सिंह सर्लाही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन। तर, महोत्तरी–३ मा सक्रियता देखाउनु र स्थानीय संरचनालाई बेवास्ता गर्नु नै विवादको मुख्य कारण बनेको कार्यकर्ताहरूको आरोप छ। उक्त क्षेत्रबाट भने रास्वपाकै उज्वल झा निर्वाचित प्रतिनिधि हुन्।
