गरिबीलाई ‘गल्ती’ भन्ने गृहमन्त्री गुरुङमाथि चौतर्फी प्रहारः रक्षा बमको प्रश्न— राज्य असफल कि जनता?
काठमाडौँ— एकातिर देशको ठूलो जनसंख्या दैनिक गुजारा चलाउन संघर्षरत छ, अर्कोतिर राज्य सञ्चालनको जिम्मेवारीमा रहेका नेतृत्वबाट गरिबीलाई व्यक्तिगत असफलताको रूपमा चित्रित गर्ने अभिव्यक्ति आउनु आफैंमा गम्भीर विरोधाभास बनेको छ।
यही पृष्ठभूमिमा गृहमन्त्रीको विवादास्पद भनाइप्रति जेनजी अभियन्ता रक्षा बमले कडा प्रतिवाद गर्दै राज्यको सोच र संवेदनशीलतामाथि नै प्रश्न उठाएकी छन्। प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै बढेको आलोचनालाई प्रतिवाद गर्ने क्रममा गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत ‘जन्मँदा गरिब हुनु गल्ती होइन, तर गरिब भएरै मर्नु गल्ती हो’ भन्ने अभिव्यक्ति दिएका थिए।
यो भनाइले समाजमा व्यापक बहस निम्त्याइरहेका बेला अभियन्ता बमले त्यसलाई सीधा चुनौती दिँदै वास्तविक जीवनको कठोर यथार्थलाई नजरअन्दाज गरिएको आरोप लगाएकी छन्। उनले भनेकी छिन्– ‘फिल्मी संवादजस्ता आकर्षक वाक्यहरू यथार्थ जीवनमा लागू हुँदैनन्, किनकि अधिकांश नागरिकका लागि जीवन निरन्तर संघर्षको अर्को नाम हो।’
देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको तथ्य औंल्याउँदै उनले प्रश्न उठाएकी छिन— राज्यले सीमित अवसर सिर्जना गरेको अवस्थामा सबैले समान रूपमा आर्थिक उन्नति गर्न नसक्दा त्यसलाई व्यक्तिगत गल्ती भन्न मिल्छ र?’
बमको तर्कमा केवल भावनात्मक प्रतिक्रिया मात्र होइन, संरचनागत असमानताप्रतिको गहिरो संकेत पनि देखिन्छ। उनले लेखेकी छिन्– ‘उच्च आर्थिक हैसियत बनाउने अवसर सीमित वर्गमा केन्द्रित छ, जसका कारण बहुसंख्यक नागरिकका लागि समृद्धि अझै टाढाको सपना बनेको छ।’ यस्तो अवस्थामा गरिबीलाई व्यक्तिको कमजोरीको रूपमा प्रस्तुत गर्नु केवल असंवेदनशील मात्र होइन, पदीय मर्यादाविपरीत पनि भएको उनको निष्कर्ष छ।
राज्यसँग अहिलेका लागि सबै नागरिकलाई आर्थिक रूपमा उकास्ने पर्याप्त स्रोत र स्पष्ट योजना दुवैको अभाव छ। यस्तो अवस्थामा नेतृत्व तहबाट आउने अभिव्यक्ति झन् जिम्मेवार र यथार्थपरक हुनुपर्नेमा उल्टै जनतालाई दोषारोपण गर्ने प्रवृत्ति देखिनु खतरनाक संकेत भएको उनको चेतावनी छ।
सम्पत्ति विवरण सार्वजनिक भएपछि सत्ताधारीहरूको आर्थिक हैसियतप्रति उठेका प्रश्नहरू अझै सेलाएका छैनन्। त्यही संवेदनशील समयमा आएको गृहमन्त्रीको अभिव्यक्तिले जनताको पीडा बुझ्नेभन्दा उल्टै तिरस्कार गर्ने मानसिकता झल्काएको आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा उठिरहेको छ।
अभियन्ता बमले पनि यही सन्दर्भमा नेतृत्वलाई सचेत गराउँदै स्पष्ट सन्देश दिएकी छिन— ‘आज गरिब हुनु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध ठहरिने खतरा टाढा छैन।’
यो प्रकरणले मन्त्री गुरुङको अभिव्यक्तिमात्र होइन, राज्यको सोच, संवेदनशीलता र जनताप्रतिको दृष्टिकोणमाथि गहिरो बहस सुरु गराएको छ। सत्ता र जनताको दूरी केवल आर्थिक मात्र होइन, मानसिक र दृष्टिकोणगत रूपमा पनि बढ्दै गएको संकेत यस घटनाले उजागर गरेको छ।

यो पनि,
- निलो क्रान्तिबाट उदाएका मन्त्रीको पहेँलो मोहः १५ मन्त्रीमै यस्तो धन, बाँकीको खुल्यो भने कस्तो होला मन ?
- बालेनको सम्पत्ति विवरणः वास्तविक आर्थिक अवस्था कि ‘कागजी घोडा’? विवाहको फोटोले दियो शंकाको ठाउँ
- गैरकानुनी जग्गा राख्ने बालेन र सुधनलाई भूमिसम्बन्धी कानुन लाग्छ कि लाग्दैन?
- मन्त्री विराजभक्तको सम्पत्तिमा दुई वर्षमै ३५ लाखको उछालः के हो रहस्य?
- गरिब जनताका धनी मन्त्रीः सप्तरीया मन्त्रीको ८० तोला सुन, ७० लाख नगद अनि करोडौंको जग्गा
