गोरखामा बूढीगण्डकीको भीषण बाढीः ३५ घर बगे, नदी थुनिने–खुल्ने क्रम जारी, आरुघाटसम्म सतर्क रहन चेतावनी
गोरखा— गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले पैयुँ र बगर क्षेत्रका गरी ३५ घर बगाएको प्रारम्भिक विवरण आएको छ। विभिन्न बस्ती जोड्ने झोलुङ्गे पुलसमेत बगाएको स्थानीय जनप्रतिनिधि र बासिन्दाले बताएका छन्।
नदीमा लेदो, गेग्रान र ठूला ढुंगासहितको बहाव बढ्ने–घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी क्षेत्रमा व्यापक क्षति भएको छ। बिहान करिब ४ बजेतिर बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीको वेग तीव्र भएकाले कतिपयले घरभित्रका सामानसमेत निकाल्न नपाएको बताएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा क्षेत्रमा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि बाढी आएको प्रारम्भिक अनुमान छ। पहिरोले नदीको बहाव रोकिँदा पानी जम्मा भएको र अवरोध खुल्ने क्रममा ठूलो बाढी तलतिर आएको हुन सक्ने उनको भनाइ छ।
उनका अनुसार नदी थुनिने र खुल्ने क्रम पटक–पटक दोहोरिएको छ। बिहान ठूलो आवाज आएपछि स्थानीयलाई खबर गरी सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो। पहिरो झर्ने क्रम जारी रहेकाले प्रभावित क्षेत्रमा पुगेर क्षतिको यकिन विवरण संकलन गर्नसमेत कठिन भएको उनले बताए।
चुमनुब्री गाउँपालिका–३ अन्तर्गत सल्लेरी, पैयुँ र जगत् बगर क्षेत्रमा घरहरू बगाएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। बाढीले गाउँपालिका–३ का बजार क्षेत्रलाई समेत प्रभावित पारेको छ। न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको जानकारी गृहमन्त्री सुधन गुरुङले दिएका छन्। स्थानीयका अनुसार ठाडोभर्याङ क्षेत्रमा पनि झोलुङ्गे पुल बगेको छ।
बाढी चुमनुब्रीमा मात्र सीमित नभई तल्लो तटीय क्षेत्रतर्फ पनि जोखिम बढाएको छ। धार्चे गाउँपालिका–५ को माछाखोला बजारका केही घर बगाएको र माछाखोला तथा केरौँजा जोड्ने झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको स्थानीय धनकुमार गुरुङले बताएका छन्। उनले चार–पाँच घर बगाइसकेको र बाढी आउने क्रम जारी रहेको जानकारी दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीले तल्लो क्षेत्रमा थप क्षति पु¥याउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार सिर्दिबास, जगत्, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाटसम्म जोखिम हुन सक्छ।
मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्कताको सूचना पठाएको छ। महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्न सक्ने अनुमानका आधारमा त्यहाँसम्मका बासिन्दालाई सचेत गराइएको थियो।
बाढीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। सुरक्षाकर्मी प्रभावित क्षेत्रमा सतर्क अवस्थामा रहेका छन्।
प्रारम्भिक विवरणमा मानवीय क्षति भएको पुष्टि भएको छैन। तर घर, पुल तथा बस्तीमा पुगेको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ। बाढीले कतिपय क्षेत्रमा आवतजावतसमेत प्रभावित पारेकाले उद्धार, क्षति मूल्यांकन र जोखिममा रहेका बासिन्दाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
नदी थुनिएर आएको बाढीको जोखिम कायमै
बाढीको कारणबारे प्रारम्भिक अनुमान नदीमा पहिरो खसेर बहाव अवरुद्ध हुनु रहेको छ। चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङबीचको स्यार खोला क्षेत्रमा अवरोध बनेको हुन सक्ने बताइएको छ। स्यार खोला बूढीगण्डकीको सहायक नदी हो। तर घटनाको यकिन कारण र पहिरोले नदी कति समय तथा कुन हदसम्म थुनेको थियो भन्ने विषयमा प्राविधिक पुष्टि भइसकेको छैन।
स्थानीयका अनुसार नदीको बहाव पटक–पटक बढ्ने र घट्ने भइरहेको छ। माथिल्लो क्षेत्रमा थप पहिरो खस्ने वा थुनिएको पानी एकैपटक खुल्ने अवस्था आएमा तल्लो तटीय बस्तीमा जोखिम बढ्न सक्छ। त्यसैले प्रभावित क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित अग्लो स्थानमा बस्न र स्थानीय प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।
बाढीले पुर्याएको क्षतिको यकिन विवरण, प्रभावित परिवारको संख्या, पुल तथा सडकमा भएको क्षति र सम्भावित मानवीय असरबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ। अहिले प्राथमिकता जोखिममा रहेका बासिन्दालाई सुरक्षित राख्ने र नदीको बहाव तथा पहिरोको अवस्थालाई निरन्तर निगरानी गर्ने रहेको छ।

