हत्या आरोपीसँग हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर— जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका इर्साद खानसँग हिंसा उक्साउने प्रकृतिका टिकटक तथा रिल्स बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डलमाथि अनुसन्धान सुरु भएको छ।

खानसँगको भिडियो सार्वजनिक भएपछि मण्डललाई गणमा तानेर अनुसन्धान अघि बढाइएको बताइएको छ। बिहीबार साँझ खानले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका–५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो। घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।

प्रहरी अनुसन्धानमा खान स्थानीयस्तरमा ‘गुण्डा’ उपनामले चिनिने गरेको खुलेको बताइएको छ। उनी र सशस्त्र प्रहरी जवान मण्डलले केही महिनाअघि सँगै टिकटक तथा रिल्स बनाएको भिडियो भेटिएको छ।

उक्त भिडियोमा खानले खल्तीबाट खुकुरी निकालेर देखाउँदै अभद्र गाली गरेको र हिंसा गर्ने चेतावनी दिएको सुनिन्छ। भिडियोमा सशस्त्र प्रहरी जवान मण्डल पनि उनीसँगै देखिन्छन्। मण्डलले खानको गतिविधिलाई संरक्षण गरेको आरोपसमेत उठेको छ।

अनुसन्धानका क्रममा खानले अन्य समुदायलाई लक्षित गर्दै हिंसा भड्काउने तथा सामाजिक सद्भाव बिगार्न सक्ने प्रकृतिका भिडियो र रिल्स बनाएको विवरण पनि खुलेको बताइएको छ। हत्या आरोपमा पक्राउ परेका व्यक्तिसँग सशस्त्र प्रहरी जवानको यस्तो सम्बन्ध देखिएपछि मण्डलको भूमिकाबारे अनुसन्धान अघि बढाइएको हो।

मण्डलले ती भिडियो कुन परिस्थितिमा बनाएका थिए, उनको भूमिका के थियो र उनले खानका गतिविधिलाई संरक्षण गरेका थिए वा थिएनन् भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ। यसबारे मण्डल तथा सशस्त्र प्रहरी बलको आधिकारिक प्रतिक्रिया आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट