सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, श्रीमानसहित तीन जना गम्भीर घाइते

सिमरा– बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमानसहित तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ भएको दुर्घटनामा सिम्रौनगढ नगरपालिका–६ की ३७ वर्षीया रिजवाना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रिजवानाका श्रीमान् ४० वर्षीय सबु महमद तथा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०५एफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको थियो।

साइकलमा रिजवाना र उनका श्रीमान् सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएकी रिजवानालाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

साइकल चालक सबु महमदलाई प्रारम्भमा कलैया अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक २५ वर्षीय अजय महतो र त्यसमा सवार २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। उनीहरू दुवैको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट