पत्रकारलाई सामूहिक गिरफ्तार गर्न महासंघको चुनौती, मंसिर ९ मा जिल्ला प्रशासन कार्यालय घेर्ने तयारी

काठमाडौँ– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको र पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै नेपाल पत्रकार महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आन्दोलनको सबैभन्दा ध्यानाकर्षक कार्यक्रमअन्तर्गत महासंघले आगामी मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला हुन आफ्ना जिल्ला शाखाहरूलाई आह्वान गरेको छ।

महासंघले मंगलबार सार्वजनिक गरेको आन्दोलनको कार्यक्रममार्फत प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयास, समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, सञ्चारमाध्यमका कार्यालयमा अवरोध तथा पत्रकारहरूको श्रम अधिकार हननजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाइएको छ। त्यस्तै, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको भन्दै महासंघले त्यसको विरोध गरेको छ।

सञ्चारमाध्यमका कार्यालय अगाडि अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गर्नेहरूमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले सरकारको भूमिकामाथि प्रश्न उठाएको छ। प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने राज्यबाटै सञ्चारमाध्यमलाई असहज बनाउने गतिविधि भएको महासंघको आरोप छ।

पत्रकारहरूको श्रम अधिकार उल्लंघनलाई पनि महासंघले आन्दोलनको प्रमुख मुद्दा बनाएको छ। गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जबरजस्ती निष्कासन गरिएको महासंघको दाबी छ। त्यस्तै, पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कार्यान्वयन नगरिएको भन्दै महासंघले आपत्ति जनाएको छ।

महासंघले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने र सोही दिन तथा मंसिर ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने कार्यक्रम छ।

त्यसपछि मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थाहरूसँग छलफल गर्नेछन्। आन्दोलनको पाँचौँ तथा विशेष ध्यान खिच्ने कार्यक्रम मंसिर ९ गते हुनेछ। उक्त दिन देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयअगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित पत्रकारहरू भेला हुने महासंघले जनाएको छ।

महासंघले यी कार्यक्रमबाट पनि माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत मान्यता हो। समाचार कक्षमै प्रहरी प्रवेश, सञ्चारमाध्यममा अवरोध र पत्रकारको श्रम अधिकारमाथि हस्तक्षेप भएको महासंघको आरोपका बीच घोषित आन्दोलनले सरकार र पत्रकार महासंघबीचको टकराव थप चर्किने संकेत गरेको छ।

अब सरकार महासंघका माग सम्बोधन गर्न संवादमा अघि बढ्छ वा आन्दोलन थप विस्तार हुन्छ भन्ने प्रश्न उठेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट