मासिक ४० हजार तलबका शिक्षकको खातामा एक वर्षमै ६ करोड ३१ लाख, कांग्रेस नेता उमेश श्रेष्ठका भाइबाट मात्रै १ करोड ४२ लाख ५० हजार !
काठमाडौँ— दुई वर्षअघि मासिक ४० हजार रुपैयाँ तलबमा विद्यालयमा पढाउने इनम सापकोटाको बैंक खातामा एक वर्षमै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको खुलेको छ। विभिन्न व्यक्ति र संस्थाबाट आएको ठूलो रकम २४ घण्टा नबित्दै फरक–फरक कम्पनीका खातामा स्थानान्तरण हुने गरेको बैंकिङ विवरणले देखाएको छ।
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठदेखि विभिन्न व्यावसायिक संस्थासम्मको कारोबार भेटिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ। कान्तिपुरले सार्वजनिक गरेको सापकोटाको बैंकिङ कारोबारको विस्तृत विवरणअनुसार सबैभन्दा बढी रकम जम्मा गर्नेमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ देखिएका छन्।
महेशका नामबाट सापकोटाको खातामा सात पटक गरी १ करोड ४२ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ। सापकोटासँग आर्थिक कारोबार देखिएपछि प्रहरीले महेशलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी अनुसन्धान भइरहेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणका क्रममा सापकोटासँगको सम्पर्क खुलेपछि उनी अनुसन्धानमा तानिएका थिए। त्यसपछि उनको मोबाइलमा भेटिएका संवाद, विभिन्न व्यक्तिसँगको सम्पर्क र आर्थिक कारोबारको विवरण खोतल्ने क्रममा राजनीतिक, प्रशासनिक, न्यायिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूसँगको सम्बन्धबारे अनुसन्धान अघि बढाइएको हो।
बैंकिङ विवरणमा ठूलो रकम जम्मा भएको २४ घण्टाभित्रै सापकोटाले विभिन्न कम्पनीका खातामा रकम पठाएको देखिन्छ। प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि, इन्जिक बिल्डर्स प्रालि र हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालिका खातामा रकम स्थानान्तरण भएको विवरणमा उल्लेख छ। प्रहरीको सोधपुछमा सापकोटाले स्वास्थ्य उपकरण र स्किन केयरसम्बन्धी सामग्री आयात गर्ने उद्देश्यले प्रिसाइज हेल्थकेयर टेक्नोलोजी कम्पनी खोलेको बताएका छन्।
महेश श्रेष्ठबाट पटक–पटक करोडौं रकम
विवरणअनुसार महेश श्रेष्ठले पहिलोपटक १८ जेठ २०८३ मा प्राइम कमर्सियल बैंकको चेकमार्फत सापकोटाको खातामा १० लाख रुपैयाँ जम्मा गरेका थिए। उक्त रकम अर्को दिन नै इन्जिक बिल्डर्स प्रालिको खातामा पठाइएको देखिन्छ।
त्यसपछि १ असारमा महेशका नामबाट १ लाख ५० हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकको चेकमार्फत थप ११ लाख रुपैयाँ जम्मा भएको विवरण छ। १७ असारमा उनले २० लाख रुपैयाँ जम्मा गरे भने त्यसको भोलिपल्ट सापकोटाले सोही बराबरको रकम इन्जिक बिल्डर्सको खातामा पठाएको देखिन्छ।
५ साउन २०८३ मा महेशले प्राइम कमर्सियल बैंकबाट ३५ लाख र राष्ट्रिय वाणिज्य बैंकको चेकमार्फत २५ लाख रुपैयाँ गरी एकै दिन ६० लाख रुपैयाँ जम्मा गरेका थिए। त्यसको भोलिपल्ट सापकोटाको खाताबाट हिमालयन फ्लोरा इन्टरप्राइजेजको खातामा ४५ लाख ७० हजार रुपैयाँ स्थानान्तरण भएको विवरणमा उल्लेख छ।
७ साउनमा महेशले पुनः ४० लाख रुपैयाँ जम्मा गरेका थिए। त्यसको चार दिनपछि सापकोटाले आफ्नी श्रीमती कविता पाण्डेको खातामा ११ लाख रुपैयाँ पठाएका थिए। १८ साउनमा इन्जिक बिल्डर्सको खातामा २० लाख र २० साउनमा हिमालयन फ्लोरा इन्टरप्राइजेजको खातामा २२ लाख रुपैयाँ पठाइएको देखिन्छ।
यी कारोबारसँगै महेशका नामबाट सापकोटाको खातामा सात पटक गरी १ करोड ४२ लाख ५० हजार रुपैयाँ जम्मा भएको बैंकिङ विवरणमा उल्लेख छ। कारोबारको प्रकृति, रकमको स्रोत र विभिन्न कम्पनीमा गरिएको स्थानान्तरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
उमेश श्रेष्ठ अध्यक्ष रहेको फाउन्डेसनबाट २० लाख
सापकोटाको खातामा दोस्रो ठूलो रकम श्रीवृद्धि इन्भेस्टमेन्ट प्रालिबाट आएको देखिएको छ। उक्त कम्पनीले ७ असोजमा प्राइम कमर्सियल बैंकको चेकमार्फत एक करोड रुपैयाँ जम्मा गरेको थियो। सापकोटाले सो रकम तत्कालै क्यापिटल म्यासज सेक्युरिटी लिमिटेडको खातामा पठाएको विवरणमा उल्लेख छ।
त्यसैगरी कांग्रेस नेता उमेश श्रेष्ठ अध्यक्ष रहेको जनमैत्री फाउन्डेसनको खाताबाट पनि सापकोटाको खातामा २० लाख रुपैयाँ आएको देखिन्छ। १५ भदौ २०८३ मा फाउन्डेसनको प्राइम कमर्सियल बैंकस्थित खाताबाट चेकमार्फत उक्त रकम जम्मा भएको थियो।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सापकोटा र उमेश श्रेष्ठबीच जग्गाको विषयमा ह्वाट्सएपमा कुराकानी भएको विवरणसमेत फेला परेको छ। उनीहरूबीच जग्गाको धनीपुर्जाको फोटो आदानप्रदान भएको अनुसन्धान अधिकृतको भनाइ छ। सापकोटाले जग्गा लिन खोजेको हुन सक्ने प्रारम्भिक बुझाइ रहेको ती अधिकारीले बताएका छन्।
उमेश श्रेष्ठमाथि पनि अनुसन्धान अघि बढाइएको प्रहरी अधिकारीको भनाइ छ। आवश्यक देखिए थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको संकेत छ। तर, बैंक खातामा रकम आएको वा सम्पर्क भएको विवरणकै आधारमा सम्बन्धित व्यक्तिले कसुर गरेको निष्कर्ष निकाल्न मिल्दैन। कारोबारको प्रकृति, उद्देश्य र रकमको स्रोत अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
जबराको रकम भएको सापकोटाको दाबी
सापकोटासँग प्रहरीले गरेको सोधपुछको अडियो गत १७ कात्तिकमा जनआस्थाले सार्वजनिक गरेको थियो। उक्त अडियोमा सापकोटाले विभिन्न बैंकमा करोडौं रुपैयाँ रहेको र ती रकम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भएको दाबी गरेका छन्।
‘करोडौं पैसा सबै चोलेन्द्र श्रीमानको हो। उहाँमार्फत पैसा प्रभुशमशेर जबरा (चोलेन्द्रका भाइ) ले प्रयोग गरेको हो,’ सापकोटाले सोधपुछका क्रममा भनेको अडियोमा सुनिन्छ। उनले एनआईएमबी बैंकको खातालाई सबैभन्दा सक्रिय खाता बताएका छन्। केही समयअघि सेयर धितो राखेर ऋण लिने प्रयोजनका लागि सिटिजन्स बैंकमा खाता खोलेको र विद्यार्थी हुँदादेखि नै एसबीआई तथा प्रभु बैंकमा पनि खाता रहेको उनले बताएका छन्।
एनआईएमबी बैंकको खातामा आएको रकममध्ये विशेषगरी पूर्वप्रधानन्यायाधीश जबराका भाइ प्रभुशमशेरमार्फत आएको उनको दाबी छ। आइप्लेक्स मलसँग सम्बन्धित सेटलमेन्टका लागि रकम आएको पनि उनले सोधपुछमा बताएका छन्।
यी रकम पूर्वप्रधानन्यायाधीश जबरा वा उनका भाइको भएको सापकोटाको भनाइ आफैंमा पुष्टि भएको तथ्य भने होइन। प्रहरीले बैंकिङ अभिलेख, कारोबारको स्रोत र सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ।
नवीन तुलाधरबाट पनि २० लाख
सापकोटाको बैंक खातामा नवीन तुलाधरबाट पनि २० लाख रुपैयाँ जम्मा भएको देखिएको छ। तुलाधरविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा ठगीसम्बन्धी मुद्दा रहेको सापकोटाले प्रहरीलाई बताएका छन्।
सापकोटाका अनुसार तुलाधरसँग उनको चिनजान उमेश श्रेष्ठमार्फत सिंगापुरमा भएको थियो। उनले तुलाधरसँग तीन करोड रुपैयाँमा सिंगापुरमै सेटल गर्ने गरी कारोबारको समझदारी भएको र त्यसैक्रममा रकम जम्मा भएको दाबी गरेका छन्।
सापकोटाको खातामा आएको रकमको स्रोत, कारोबारको उद्देश्य र त्यससँग सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
४० हजार तलबका शिक्षकदेखि करोडौंको कारोबारसम्म
एक वर्षमै करोडौं रुपैयाँको कारोबार देखिएका सापकोटा दुई वर्षअघि भने काठमाडौंको बाँसबारीस्थित मिल्सबेरी स्कुलमा प्राथमिक तहका सहायक शिक्षकका रूपमा कार्यरत थिए। विद्यालयका एक शिक्षकका अनुसार उनी प्रि–स्कुल तहमा पढाउँथे र मासिक तलब ४० हजार रुपैयाँ थियो।
ती शिक्षकका अनुसार सापकोटा विद्यालयमा सामान्य शिक्षकका रूपमा आएका थिए। रिक्त पदका लागि सीभी पठाएर अन्तर्वार्तामार्फत छनोट भएपछि उनले अध्यापन सुरु गरेका थिए। त्यतिबेला उनको प्रभावशाली व्यक्तिहरूसँग उठबस रहेको आफूलाई जानकारी नभएको ती शिक्षकले बताएका छन्।
सापकोटाले प्रहरीलाई दिएको बयानमा आफूले भारत सरकारको छात्रवृत्तिमा अध्ययन गरेको, गोल्ड मेडल प्राप्त गरेको र जर्मनीबाट विद्यावारिधिसमेत गरेको दाबी गरेका छन्। उनले आफ्नो शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिबारे गरेका दाबीको स्वतन्त्र पुष्टि भने सार्वजनिक भइसकेको छैन।
उनले लिटिल एन्जल्स स्कुलको पूर्वविद्यार्थी भेटघाट कार्यक्रममा पूर्वप्रधानन्यायाधीश जबराका छोरासँग भेट भएको र त्यही सम्बन्धबाट जबरासँग परिचय बनेको दाबी गरेका छन्। त्यसपछि जबरामार्फत कांग्रेसका नेताहरूसँग चिनजान भएको उनको भनाइ छ।
राजनीतिक र व्यावसायिक पहुँचको दाबी
सापकोटाले प्रहरीसँगको सोधपुछमा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काले आफूलाई सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टसँग भेट गराएको दाबी गरेका छन्। उक्त भेट कहाँ र कहिले भएको थियो भन्ने विवरण भने पुष्टि भइसकेको छैन।
त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण र कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग पनि चिनजान रहेको उनले बताएका छन्। यी व्यक्तिहरूसँगको सम्बन्ध र भेटघाटबारे सापकोटाले गरेको दाबीलाई प्रहरीले थप प्रमाण र डिजिटल अभिलेखसँग भिडाएर अनुसन्धान गर्नुपर्ने देखिन्छ।
पूर्वप्रधानन्यायाधीश जबराको मोबाइल परीक्षणबाट सुरु भएको अनुसन्धान अहिले सापकोटाको बैंकिङ कारोबार, विभिन्न कम्पनी, रकम जम्मा गर्ने व्यक्ति, रकम प्राप्त गर्ने संस्था र उनको सम्पर्क सञ्जालसम्म पुगेको छ। यस अनुसन्धानमा सहयोग गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक नरहरि रेग्मीको नेतृत्वमा छुट्टै समिति पनि बनाइएको छ।
सापकोटासँग कारोबार देखिएका सबै कम्पनी र व्यक्तिहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। उनको मोबाइलमा भेटिएका संवाद तथा सम्पर्कका आधारमा न्यायालय, सुरक्षा निकाय, राजनीति र व्यवसाय क्षेत्रका व्यक्तिहरूको सम्बन्धसमेत खोतलिँदै छ।
एउटा बैंक खातामा एक वर्षमै ६ करोड ३१ लाख रुपैयाँ जम्मा हुनु, रकम आएको छोटो समयमै विभिन्न कम्पनीमा स्थानान्तरण हुनु र कारोबारमा राजनीतिक तथा व्यावसायिक पहुँच भएका व्यक्तिहरूको नाम जोडिनुले यो प्रकरणलाई सामान्य आर्थिक कारोबारभन्दा व्यापक अनुसन्धानको विषय बनाएको छ। तर रकमको वास्तविक स्रोत, कारोबारको उद्देश्य, कम्पनीहरूको भूमिका र नाम जोडिएका व्यक्तिहरूको संलग्नता के हो भन्ने प्रश्नको जवाफ प्रहरी अनुसन्धानबाटै खुल्न बाँकी छ।
लोकप्रिय
अदालतले पुनर्बहाली गरे पनि दानबहादुरलाई काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी, अर्को बाटो खोज्ने संकेत

