बीपी राजमार्गबाट माइक्रोबस खोलाको बगरमा खस्यो, १४ जना घाइते, ५ जनालाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी
सिन्धुली– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस मंगलबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो।
प्रहरीका अनुसार दिउँसो करिब २ बजे म.प्र. ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकसहित गाडीमा सवार सबै १४ जना घाइते भएका छन्। गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा धनुषाको शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय प्रिन्स साह, तीन वर्षीया बम साह, जनकनन्दिनी गाउँपालिकाकी ३५ वर्षीया सीता यादव र नाम तथा ठेगाना नखुलेका एक पुरुष रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको हो।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार घाइतेमध्ये चालक धनुषाको शहीदनगर नगरपालिका–८ का दीपककुमार दास छन्। त्यस्तै, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानीकुमारी मण्डल, शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित गम्भिर घाईते छन्।
ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह तथा उनका १६ वर्षीया छोरी जेनी साह, ११ वर्षीया छोरी सफलता साह र तीन वर्षीया छोरी ओमी साह पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैको विस्तृत स्वास्थ्य अवस्था र दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको छ। माइक्रोबस कसरी अनियन्त्रित भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
लोकप्रिय
ताजा अपडेट
औषधि राख्ने फ्रिजमा ह्विलचेयर भेटिएपछि स्वास्थ्य मन्त्री सचिवमाथि खनिइन्, ‘सामान्य व्यवस्थापन पनि गर्न सक्नुहुन्न?’

