सुनसरी प्रहरीको नाममा टिकटकमा आतंक, ‘केस लागेको छ’ भन्दै सर्वसाधारणलाई धम्की !

काठमाडौँ– प्रहरीकै नाम, लोगो र पोसाक दुरुपयोग गरेर सर्वसाधारणलाई धम्की दिने नक्कली टिकटक अकाउन्ट सक्रिय भएको पाईएको छ। ‘सुनसरी जिल्ला प्रहरी कार्यालय’ को नाममा खोलिएको उक्त अकाउन्टबाट विभिन्न व्यक्तिलाई मुद्दा लागेको भन्दै कारबाहीको धम्की दिने र प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखिएको उक्त टिकटक अकाउन्ट आफ्नो आधिकारिक नभएको स्पष्ट पारेको हो। ‘@nepaliploi0’ युजरनेम रहेको अकाउन्टबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त अकाउन्टमा १९ अक्टोबर २०२६ देखि भिडियो पोस्ट भएको देखिन्छ। अकाउन्टको बायोमा अंग्रेजीमा ‘SUNSARI POLICE DEPARTMENT OFFICIAL TIKTOK PAGE’ लेखिएको छ। यसलाई आधिकारिक प्रहरी अकाउन्ट जस्तो देखाउन खोजिएको छ।

अकाउन्टमा नेपाल प्रहरीको पोसाक लगाएका व्यक्तिहरूले नृत्य गरिरहेका तथा टिकटक बनाइरहेका भिडियोसमेत राखिएका छन्। प्रहरीको नाम र पहिचान प्रयोग गरिएकाले सर्वसाधारण झुक्किन सक्ने र त्यसैलाई आधार बनाएर धम्की तथा हैरानी दिने गतिविधि भइरहेको प्रहरीको भनाइ छ।

‘केस लागेको छ, तुरुन्त जवाफ दिनुहोस्’ भन्दै धम्की
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार नक्कली अकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज पठाएर मुद्दा लागेको भन्दै कारबाहीको धम्की दिने गरिएको छ।

त्यस्ता म्यासेजमा सम्बन्धित व्यक्तिलाई कार्यालय बोलाउने र तत्काल जवाफ नदिए कारबाही हुने चेतावनीसमेत दिइएको पाइएको उनले बताए।

युट्युबर तथा कन्टेन्ट क्रिएटर रतन कार्कीसहित विभिन्न सर्वसाधारणले आफूहरूलाई उक्त अकाउन्टबाट अनावश्यक दुःख र हैरानी दिइएको जानकारी प्रहरीलाई गराएका छन्।

कार्कीले पनि आफूलाई आएको धम्कीपूर्ण म्यासेजको स्क्रिनसट फेसबुकमार्फत सार्वजनिक गरेका छन्। सार्वजनिक स्क्रिनसटमा ‘तपाईंले एउटा ठूलो गल्ती गर्नुभएको रहेछ’, ‘अब त्यो गल्ती लुकाएर हुँदैन’, ‘आज तपाईंको पोल खुल्नेवाला छ’ र ‘तपाईंको नाममा केस लागेको छ, छिटोभन्दा छिटो रिप्लाई गर्नु नत्र कारबाही हुन्छ’ जस्ता सन्देश देखिन्छन्।

म्यासेज पठाउने व्यक्तिले आफू प्रहरी प्रशासनको प्रतिनिधि भएको आभास दिने गरी भाषा प्रयोग गरेको देखिन्छ। तर अंग्रेजी शब्द ‘Case’ समेत गलत लेखेर ‘Kes’ उल्लेख गरिएको छ।

स्क्रिनसट सार्वजनिक गर्दै कार्कीले लेखेका छन्, ‘Case को Spelling समेत लेख्न नजान्ने पनि पुलिस प्रशासन हुन्छ ? यस्ता Fake ID  बाट Message आइरहेका छन् । कुन दिन Real ID लाई नै गाली गर्ने हो मैले ।’

उनको पोस्टले प्रहरीको नाममा खोलिएको नक्कली अकाउन्टबाट सर्वसाधारणलाई दिइएको हैरानीबारे सामाजिक सञ्जालमा पनि ध्यानाकर्षण गराएको छ।

सुनसरी प्रहरीको आधिकारिक टिकटक अकाउन्ट नै छैन
डीएसपी खड्काले जिल्ला प्रहरी कार्यालय सुनसरीको कुनै पनि आधिकारिक टिकटक अकाउन्ट नरहेको स्पष्ट पारेका छन्।

उनका अनुसार कार्यालयको आधिकारिक नाम ‘जिल्ला प्रहरी कार्यालय सुनसरी’ हो। तर नक्कली अकाउन्टमा ‘सुनसरी जिल्ला प्रहरी कार्यालय’ लेखिएको छ। नामको क्रमसमेत फरक राखेर अकाउन्टलाई आधिकारिक जस्तो देखाउने प्रयास गरिएको छ।

प्रहरीको नाम र लोगो प्रयोग गरिएको भए पनि उक्त अकाउन्टसँग जिल्ला प्रहरी कार्यालय सुनसरीको कुनै सम्बन्ध नरहेको उनले बताए। यस विषयमा प्रहरी प्रधान कार्यालयले समेत चासो राखेको डीएसपी खड्काले जानकारी दिएका छन्। कार्यालयले साइबर ब्युरोसँग समन्वय गरेर नक्कली अकाउन्टको पहिचान र त्यसबाट भएका गतिविधिबारे अनुसन्धान सुरु गरिसकेको छ।

प्रहरीको नाममा आउने सन्देशबाट सचेत रहन आग्रह
जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नो नाममा खोलिएको नक्कली अकाउन्टबाट कुनै सूचना वा सन्देश प्राप्त भए त्यसलाई आधिकारिक नठान्न सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यस्तो अकाउन्टबाट कसैलाई गैरकानुनी सूचना प्रवाह गरिएको, धम्की दिइएको वा अनावश्यक दुःख तथा हैरानी पु¥याइएको भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रहरीको नाम, लोगो र पोसाक प्रयोग गरेर खोलिएको अकाउन्ट कसले सञ्चालन गरिरहेको छ, सर्वसाधारणलाई धम्की दिनुको उद्देश्य के हो र यसबाट अरू कति व्यक्ति प्रभावित भएका छन् भन्ने विषय अनुसन्धानपछि खुल्नेछ।

प्रहरीकै पहिचान दुरुपयोग गरेर नागरिकलाई त्रसित बनाउने गतिविधि देखिएपछि यसको प्राविधिक अनुसन्धान र दोषीको पहिचान महत्वपूर्ण बनेको छ। नक्कली अकाउन्ट सञ्चालकको पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीको अनुसन्धानले कस्तो नतिजा दिन्छ भन्ने चासो बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट