बाढीको ११ दिनमै रसुवाका सीडीओ तानिए, जेन–जीसँग भनाभन भएको गृहको दाबी

काठमाडौँ– रसुवामा विनाशकारी बाढी आएको ११ दिनमै सीडीओ नरेन्द्र परियारलाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ। बेपत्ता नागरिकको खोजी, उद्वार, राहत र उपचारको समन्वय गर्नुपर्ने संवेदनशील समयमा सीडीओलाई जिल्लाबाट हटाउने निर्णय भएपछि प्रशासनिक नेतृत्वको मनोबल र विपद् व्यवस्थापनमाथि प्रश्न उठेको छ।

गृह मन्त्रालयले भने परियारलाई नियमित सरुवाका रूपमा नभई जिल्लामा उत्पन्न विवादित परिस्थितिका कारण फिर्ता बोलाइएको दाबी गरेको छ। मन्त्रालय स्रोतका अनुसार बेपत्ता व्यक्तिको खोज तथा उद्वार, राहत र औषधोपचारका विषयमा रसुवाका जेन–जी अगुवा आदर्श ढकालसहितका व्यक्तिसँग जिल्ला प्रशासन कार्यालयमै परियारको भनाभन भएको थियो।

स्रोतका अनुसार प्रशासनबाट अपेक्षित ‘रेस्पोन्स’ नपाएको भन्दै ढकालले परियारलाई कालोमोसो दल्ने धम्कीसम्म दिएका थिए। विभिन्न राजनीतिक दल तथा नागरिक समाजबाट समेत सीडीओको भूमिका समन्वयकारी नभएको गुनासो गृह मन्त्रालयसम्म पुगेपछि उनलाई मन्त्रालयमा काजमा फिर्ता बोलाउने निर्णय गरिएको स्रोतको दाबी छ।

तर, गृह मन्त्रालयले सीडीओ फिर्ता गर्नुको कारणका रूपमा अघि सारेको जेन–जीसँगको विवादलाई ढकालले अस्वीकार गरेका छन्। सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले परियारसँग झैझगडा नभएको र आफूहरूकै कारण सीडीओ सरुवा भएको भन्ने कुरा गलत भएको बताए।

‘त्यसबेला उहाँले हामीलाई बेवास्ता गर्नु भएजस्तो लाग्यो, सायद उहाँ पनि बिजी हुनुहुन्थ्यो होला,’ ढकालले भने, ‘उहाँको सरुवा हुनुको पछाडि सरकारले नै केही मूल्याङ्कन गरेको होला, हाम्रो कारणले होइन।’

उनले आफूहरू र सीडीओबीच भएको घटनालाई झगडाका रूपमा भन्दा पनि ‘मिस अण्डरस्ट्याण्डिङ’ का रूपमा बुझ्नुपर्ने बताए। रसुवामा बाढी आएको ११ दिनपछि गृहमन्त्री सुदन गुरुङले मन्त्रीस्तरीय निर्णयबाट परियारलाई मन्त्रालय फिर्ता बोलाएका हुन्। परियार रसुवामा सीडीओका रूपमा कार्यरत भएको करिब दुई महिना मात्रै भएको थियो।

छोटो अवधिमै विपद्को बीचमा जिल्लाको प्रशासनिक नेतृत्व परिवर्तन गर्ने निर्णयप्रति कर्मचारी प्रशासनसम्बन्धी विज्ञहरूले प्रश्न उठाएका छन्। उनीहरूका अनुसार संकटका बेला जिल्लामा खटिएका प्रमुख प्रशासकीय अधिकारीलाई आवश्यक सहयोग र हौसला दिनुपर्नेमा पर्याप्त कारणबिना छोटो अवधिमै फिर्ता बोलाउँदा कर्मचारीको मनोबलमा असर पर्न सक्छ।

यद्यपि, गृह मन्त्रालयले परियारको कामकारबाही र जिल्लामा उत्पन्न परिस्थितिको मूल्याङ्कनपछि नै निर्णय गरिएको दाबी गरेको छ। मन्त्रालय स्रोतका अनुसार बाढीपछिको खोज, उद्वार, राहत तथा उपचारमा स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समूह र अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो पनि आएको थियो।

परियारलाई फिर्ता बोलाएपछि उनको ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको सीडीओका रूपमा पठाउने निर्णय भएको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको अवस्थामा प्रशासनिक नेतृत्व परिवर्तन भएको हो।

बाढीपछि अझै बेपत्ता व्यक्तिको खोजी, विस्थापितको व्यवस्थापन, राहत वितरण तथा प्रभावित क्षेत्रमा उपचार र पुनःस्थापनाको काम जारी रहेको समयमा सीडीओ परिवर्तन गरिएको हो। यसबीच, सीडीओ परियारको फिर्तीको कारणबारे गृह मन्त्रालयको दाबी र जेन–जी अगुवा ढकालको भनाइमा स्पष्ट फरक देखिएको छ।

मन्त्रालय स्रोतले विवाद र समन्वय अभावलाई निर्णयको आधार मानेको बताइरहेको छ भने ढकालले आफूहरूको कारण सरुवा नभएको र परियारसँगको घटना सामान्य गलत बुझाइ मात्र भएको दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट