भाइरल भिडियोको भरमा पक्राउ परेका दुई युवक दुई दिनमै छुटे, किशोरीले नै भनिन– ‘दुर्व्यवहार भएको थिएन’

विराटनगर– विराटनगरको महेन्द्र चोकमा दुई स्कुले किशोरीलाई हातले इसारा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पक्राउ परेका मोटरसाइकलमा सवार दुई युवकलाई प्रहरीले दुई दिनपछि आफन्तको जिम्मा लगाएर छोडेको छ।

पक्राउ परेका विराटनगर–४ का ३५ वर्षीय महेशकुमार मण्डल र ३३ वर्षीय अखिलेशकुमार प्रसादमाथि अभद्र व्यवहारको मुद्दा चलिरहेकै अवस्थामा घटनामा ‘पीडित’ भनिएका किशोरीहरूले भने आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको बताएका छन्।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा युवकहरूले स्कुल ड्रेसमा रहेका किशोरीमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग तीव्र बनेको थियो। त्यसपछि मोरङ प्रहरीले दुवै युवकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। प्रहरीले उनीहरूलाई तीन दिनको म्याद थपसमेत गराएको थियो।

तर अनुसन्धानका क्रममा घटनाको वास्तविकता सामाजिक सञ्जालमा बनेको धारणाभन्दा फरक देखिएको प्रहरीकै भनाइ छ। मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार भिडियोमा देखिएका किशोरीहरूले आफूहरूमाथि अभद्र व्यवहार भएको महसुस नगरेको बताएका छन्।

प्रहरीका अनुसार मोटरसाइकलमा रहेका युवकहरूले बीच सडकबाट किशोरीहरूलाई इसारा गरेको भने स्वीकार गरेका छन्। उनीहरूले आफूहरूले बाटो काट्ने क्रममा जेब्राक्रस प्रयोग गर्न आग्रह गरेको बताएका छन्। बीच सडकमा गुडिरहेको मोटरसाइकलबाट त्यसरी इसारा गर्नु गल्ती भएको स्वीकार गरेपछि उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाडिएको कटवालले बताए।

यद्यपि, उनीहरूमाथिको अभद्र व्यवहारसम्बन्धी मुद्दा भने कायमै रहेको प्रहरीले जनाएको छ। घटनापछि आफूहरूलाई ‘पीडित’ बनाएर समाचार तथा सामाजिक सञ्जालमा प्रस्तुत गरिएको भन्दै किशोरीहरूको तर्फबाट एक युवतीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी थिइन्। उनले घटनाको वास्तविक तथ्य, दुवै पक्षको भनाइ र उपलब्ध प्रमाणको परीक्षण नगरी समाचारलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएकी थिइन्।

उनका अनुसार सम्बन्धित युवकहरूले किशोरीहरूमाथि कुनै अभद्र व्यवहार गरेका थिएनन्। उनीहरूले आफूहरूलाई बाटो हिँड्न आग्रह गरेको र त्यसपछि आफूहरू आफ्नो बाटो लागेको उनको भनाइ थियो। प्रहरीमा बयान लिएपछि उनले सामाजिक सञ्जालमा राखेको उक्त पोस्ट भने हटाएकी थिइन्।

घटनाको सुरुवात भने बुधबार बिहानबाट भएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका एक कर्मचारीले विराटनगरको महेन्द्र चोकमा सडक पार गर्न लागेका दुई स्कुले किशोरी र मोटरसाइकलमा रहेका दुई युवकबीचको गतिविधि मोबाइलमा खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

भिडियोमा जेब्राक्रस नजिकै सडक पार गर्न लागेका किशोरीतर्फ मोटरसाइकलमा रहेका युवकहरूले हातको इसाराले केही भनिरहेको देखिन्छ। भिडियोमा उनीहरूले के भने वा उनीहरूको वास्तविक उद्देश्य के थियो भन्ने स्पष्ट सुनिँदैन। यही अस्पष्ट दृश्यका आधारमा सामाजिक सञ्जालमा भने घटनालाई दुई फरक ढंगले व्याख्या गरिएको थियो।

एकथरीले युवकहरूले किशोरीलाई अभद्र व्यवहार गरेको आशंका गर्दै कारबाहीको माग गरेका थिए। अर्कोतर्फ, उनीहरूले सडक पार गर्दा जेब्राक्रस प्रयोग गर्न वा सडक सुरक्षासम्बन्धी सामान्य कुरा सम्झाएको हुन सक्ने दाबी पनि गरिएको थियो।

सामाजिक सञ्जालमा दबाब बढेपछि मोरङ प्रहरीले शुक्रबार महेश र अखिलेशलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पक्राउसम्बन्धी विवरण सार्वजनिक गर्दै उनीहरूलाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेकाहरूको फोटोसहित विवरण सार्वजनिक भएपछि सञ्चारमाध्यममा समेत घटनाले व्यापक स्थान पाएको थियो।

तर, पक्राउपछि अनुसन्धान अघि बढ्दै गर्दा भिडियोमा देखिएका किशोरीहरूले नै आफूहरूमाथि दुव्र्यवहार नभएको बताएपछि प्रहरीको प्रारम्भिक कारबाहीमाथि प्रश्न उठ्यो। सामाजिक सञ्जालमा फैलिएको धारणा र घटनाको प्रत्यक्ष पक्षको भनाइबीच फरक देखिएपछि प्रहरीले दुई युवकलाई दुई दिनपछि आफन्तको जिम्मा लगाएर छोडेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्र भने सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गर्नुपरेको बताउँछन्। उनका अनुसार बाटोमा हिँडिरहेका असम्बन्धित व्यक्तिले सडकमा रहेका युवतीलाई रोक्ने वा निर्देशन दिनुपर्ने अवस्था सामान्य नभएकाले प्रहरीलाई घटनाको नियतमाथि पनि अनुसन्धान गर्नुपर्ने अवस्था आएको हो। घटनास्थल नजिकै ट्राफिक प्रहरीसमेत रहेको अवस्थामा मोटरसाइकलमा रहेका व्यक्तिले युवतीलाई नै केन्द्रित गरेर इसारा गर्नु शंकास्पद हुन सक्ने उनको भनाइ छ।

मिश्रले पछिल्लो समय सडकमा दुव्र्यवहार तथा चेन स्न्याचिङमा संलग्न समूह सक्रिय रहेको भन्दै यस्ता गतिविधिलाई प्रहरीले सूक्ष्म रूपमा हेर्ने गरेको बताए। उनका अनुसार कतिपय अपराधसमेत ‘सिकाउने’, ‘सहयोग गर्ने’ वा अन्य बहानामा हुन सक्ने भएकाले प्रारम्भिक भिडियोका आधारमा मात्रै निष्कर्षमा पुग्नुभन्दा सबै सम्भावित कोणबाट अनुसन्धान गर्नुपर्ने हुन्छ।

यद्यपि, यस घटनाले सामाजिक सञ्जालमा सार्वजनिक भएको अपूर्ण दृश्यका आधारमा तत्काल धारणा बनाउने प्रवृत्ति र त्यही दबाबका आधारमा प्रहरीले चाल्ने कदमबीचको सम्बन्धमाथि प्रश्न उठाएको छ। भिडियोमा देखिएको गतिविधिको वास्तविक अर्थ, घटनाका प्रत्यक्ष पक्षको भनाइ र प्रहरी अनुसन्धानबाट प्राप्त तथ्यबीच मेल नखाएपछि पक्राउको औचित्यमाथि प्रश्न उठेको हो।

मोरङ प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको यो पहिलो घटना भने होइन। गत ४ असार राति कुटपिट घटनाका आरोपीको खोजी गर्ने क्रममा प्रहरी टोली कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रवेश गरेर छापा मारेको थियो।

त्यस्तै, गत १८ साउनमा विराटनगरको व्यापारिक घराना देवनरा समूहको घरमा प्रहरीले छापा मारेको थियो। दुवै घटनामा प्रहरीले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै प्रहरीको अनुसन्धान शैलीमाथि प्रश्न उठेको थियो। मन्त्रीको क्वार्टर र उद्योगीको घरमा गरिएको कारबाहीबाट उपलब्धि नदेखिएको भन्दै प्रहरी विवादमा परेको पृष्ठभूमिमै अहिले महेन्द्र चोकको घटनाले पनि मोरङ प्रहरीको कार्यशैलीमाथि थप बहस जन्माएको छ।

महेन्द्र चोकको घटनामा भने प्रहरीले भिडियो सार्वजनिक भएपछि अनुसन्धान सुरु गरेको, दुई युवकलाई नियन्त्रणमा लिएको, म्याद थप गरी अनुसन्धान अघि बढाएको र पछि घटनामा देखिएका किशोरीहरूको बयान तथा सम्बन्धित पक्षको भनाइपछि उनीहरूलाई आफन्तको जिम्मा लगाएको जनाएको छ।

यसले सामाजिक सञ्जालमा भाइरल हुने भिडियोले तत्काल सार्वजनिक धारणा निर्माण गर्ने अवस्थामा प्रहरीले त्यसलाई प्रारम्भिक सूचनाका रूपमा लिने कि प्रत्यक्ष प्रमाणका रूपमा कारबाही अघि बढाउने भन्ने प्रश्नसमेत उठाएको छ। घटनामा दुव्र्यवहार भएको हो वा होइन भन्ने अन्तिम कानुनी निष्कर्ष भने मुद्दाको प्रक्रियाबाटै तय हुने अवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट