इटहरीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुई कर्मचारीको मृत्यु

इटहरी– सुनसरीको इटहरीमा आईतबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा इनरुवा–३ का २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको हो।

रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी थिए भने थापा पनि सोही कार्यालयका पूर्वकरार कर्मचारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक थापा र पछाडि सवार रेग्मी गम्भीर घाइते भएका थिए।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घाइतेको उद्वार गरी बिहान साढे ३ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।

अस्पतालमा उपचारका क्रममा दुवैको करिव ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रेग्मी सीडीओको स्वकीयका रूपमा समेत कार्यरत रहेको प्रहरीले जनाएको छ। थापाले भने केही समयअघि जिल्ला प्रशासन कार्यालयको करार सेवाबाट राजीनामा दिएको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट