विवाहित महिलासँगको सम्बन्धका कारण विवेकको हत्या, घरमै बोलाएर हत्या गरेपछि शव ९ टुक्रा पारेर सेफ्टी ट्यांकीमा
महोत्तरी— भदौ १५ गतेदेखि अचानक सम्पर्कविहीन भएका २२ वर्षीय विवेककुमार सरदारको खोजीमा जुटेको प्रहरी अन्ततः एउटा घरको सेफ्टी ट्यांकीसम्म पुग्यो। अनुसन्धानको क्रममा खुलेको तथ्यअनुसार विवेकलाई योजनाबद्ध रूपमा घरमै बोलाएर हत्या गरिएको थियो। त्यसपछि शव ९ टुक्रा पारेर घरपछाडिको शौचालयको सेफ्टी ट्यांकीमा लुकाइएको प्रहरीले जनाएको छ।
भंगहा नगरपालिका–६ का विवेकको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बलवा नगरपालिका–७ बनौटा टोलका ५८ वर्षीय अशोककुमार ठाकुर, २२ वर्षीया सोनुकुमारी ठाकुर, ५० वर्षीया रामकली देवी ठाकुर तथा महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मा छन्।
प्रहरीको अनुसन्धानअनुसार घटनाको मुख्य कडी विवेक र बलवा नगरपालिका–७ का जितेन्द्रकुमार ठाकुरकी श्रीमती सोनुकुमारी ठाकुरबीचको प्रेमसम्बन्ध बनेको छ। प्रहरीका अनुसार यही सम्बन्धका कारण विवेकलाई घरमा बोलाउने योजना बनाइएको थियो।
अनुसन्धानमा खुलेअनुसार विवेकलाई झुक्याएर बनौटास्थित घरमा बोलाइयो। घर पुगेपछि उनको हत्या गरिएको र शव लुकाउने उद्देश्यले फलामको दाउ प्रयोग गरी शरीरलाई ९ टुक्रा बनाइएको प्रहरीको भनाइ छ।
हत्या गरेपछि शवलाई घरपछाडिको शौचालयको सेफ्टी ट्यांकीमा राखिएको थियो। भदौ १५ गते विवेक जलेश्वर नगरपालिका–११ पिगौनस्थित दिदीको घरमा रक्षाबन्धन मनाउन गएका थिए। त्यहाँबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकलमा घर फर्किने क्रममा उनी सम्पर्कविहीन भएका थिए।
घरमा नआएपछि परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएको थियो। त्यसपछि प्रहरीले विवेकको खोजी सुरु गरेको थियो। प्रहरीले परिवारले दिएको हुलिया तथा अन्य विवरणका आधारमा सीसीटीभी फुटेजसहित विभिन्न प्रविधिको प्रयोग गरेर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा विवेक बलवा नगरपालिका–७ स्थित बनौटा गाउँबाटै हराएको तथ्य खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले विवेकको सम्पर्क, सम्बन्ध र घटनास्थल आसपासका गतिविधिबारे अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा विवेक र सोनुकुमारीबीच प्रेमसम्बन्ध रहेको खुलेको प्रहरीको भनाइ छ। सोनुकुमारी बलवा नगरपालिका–७ का जितेन्द्रकुमार ठाकुरकी श्रीमती हुन्।
प्रहरीका अनुसार यही सम्बन्धलाई लिएर विवेकलाई योजनाबद्ध रूपमा घरमा बोलाउने र हत्या गर्ने योजना बनाइएको थियो। अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई भदौ २६ गते उनीहरूकै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीका अनुसार हत्या गरेपछि पहिचान लुकाउने तथा घटना बाहिर आउन नदिने उद्देश्यले शव टुक्रा पारेर सेफ्टी ट्यांकीमा फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनामा प्रयोग भएको भनिएको फलामको दाउलगायतका प्रमाणसमेत प्रहरीले अनुसन्धानको दायरामा राखेको छ।
घटनामा पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता इन्स्पेक्टर विश्वम्भरनाथ साहका अनुसार उनीहरूमाथि कानुनअनुसार अनुसन्धान भइरहेको छ।
प्रहरीले हत्या किन र कसरी योजना बनाइएको थियो, घटनामा थप व्यक्तिको संलग्नता थियो वा थिएन तथा हत्यापछि शव व्यवस्थापनमा कस–कसको भूमिका थियो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

