आत्मदाह गरेका चालक अर्जुनका दुई श्रीमती आन्दोलनमा, व्यवसायीको साथ

काठमाडौँ— त्रिपुरेश्वरमा सोमबार एउटा बसमा आगो लाग्यो। बसका चालक गम्भीर घाइते भए र उपचारका क्रममा उनको मृत्यु भयो। तर घटनाको खबरले मकवानपुरको एउटा परिवारमा शोकसँगै अर्को अन्योल जन्मायो—मृत्यु भएको व्यक्ति आखिर आफ्नै अर्जुन दोङ हुन् कि होइनन?

काठमाडौंमा बस चलाएर परिवार पाल्दै आएका अर्जुनको मृत्युको खबर गाउँसम्म पुग्दा परिवारले उनको नाम सुनेन। प्रहरीले मृतक चालकलाई काभ्रेका दावा लामा भनेर पहिचान गरेको थियो। परिवारले तत्कालै त्यो नाम आफ्नो आफन्तसँग नमिल्ने बतायो।

मृत्युको खबर सुनेर काठमाडौं दौडिनुपर्ने परिवार त्यसपछि आफ्नै मान्छेको पहिचान खोज्नुपर्ने अवस्थामा पुग्यो। अस्पतालमा शव थियो, तर परिवारसँग शव आफ्नै अर्जुनको हो भनेर तत्काल दाबी गर्ने आधार थिएन।

खोजी र कागजात परीक्षणपछि अन्ततः मृतक काभ्रेका दावा लामा नभई मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका अर्जुन दोङ भएको पुष्टि भयो। तर यो पुष्टि अर्जुनलाई परिवारमा फर्काउने थिएन। यसले अस्पतालमा रहेको शव आफ्नै मान्छेको हो भन्ने यकिन मात्र ग¥यो।

नाम गलत थियो, मान्छे आफ्नै
अर्जुन सात दाजुभाइमध्ये कान्छा थिए। उनका बाबु छैनन्। सात दाजुभाइमध्ये एक जना विदेशमा छन्। परिवारका अनुसार अर्जुनका दुई श्रीमती र एक छोरा छन्।

सामान्य परिवारका अर्जुन काठमाडौंमा अर्काको बस चलाएर परिवारको गुजारा गर्दै आएका थिए। त्यही बसमा भएको आगलागीमा उनको ज्यान गयो। तर घटनापछि परिवारले सुनेको पहिलो नाम अर्जुन थिएन—दावा लामा थियो।

इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका अनुसार अर्जुन सामान्य परिवारमा हुर्किएका युवक थिए। उनले चलाउने बस पनि आफ्नै नभएको र अर्काको बस चलाएर जीविका चलाउँदै आएको उनले बताएकी छिन्।

स्थानीय तहले उपलब्ध कागजात खोज्दा अर्जुनको नागरिकता बनेको प्रमाणसमेत नभेटिएको उपाध्यक्ष ब्लोनले बताएकी छिन्। यही कारण मृतकको पहिचान यकिन गर्न परिवार र स्थानीय जनप्रतिनिधिलाई थप कागजात जुटाउनुपर्ने अवस्था आयो।

जन्मदर्ता बोकेर अस्पताल
इन्द्रसरोवर–३ का वडाध्यक्ष प्रताप ब्लोनका अनुसार अर्जुनको परिवारले उनी अरूको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको बताएका छन्। वडाबाट नागरिकताका लागि सिफारिस लिएको अभिलेखसमेत नभेटिएपछि अर्जुनको पहिचानका लागि जन्मदर्तालगायतका कागजात लिएर परिवार काठमाडौं आएको हो।

वडाध्यक्ष ब्लोन स्वयं अर्जुनका दाजु जनक र अन्य परिवारका सदस्यसँगै काठमाडौं आएका थिए। अस्पतालमा उपचारका क्रममा मृत्यु भएको व्यक्ति आफ्नै परिवारको सदस्य हो भन्ने पुष्टि गर्नुपर्नु आफैँमा परिवारका लागि अर्को पीडा थियो। मृत्युको खबरसँगै अस्पताल पुगेका उनीहरूले शोक मनाउनुअघि पहिचानको प्रश्नको सामना गर्नुप¥यो।

अन्ततः ‘दावा लामा’ होइनन्, अर्जुन दोङ
घटनाको प्रारम्भिक विवरणमा मृतक चालकलाई काभ्रेका दावा लामा भनिएको थियो। पछि प्रहरीले नै उक्त नाम र ठेगाना भएका व्यक्ति मृतक नभएको जनाएको थियो। त्यसपछि स्थानीय तह र परिवारले गरेको खोजीबाट मृतक अर्जुन दोङ भएको पुष्टि भयो।

एक अर्थमा परिवारले आफ्नो मान्छे भेट्टायो। तर त्यो भेट जीवनमा फर्किएको भेट थिएन। अस्पतालमा रहेको शव नै आफ्नो मान्छेको हो भन्ने सत्यसँग परिवारले सामना गर्नुप¥यो।

त्यसैले अर्जुनको परिवारका लागि घटनाको पीडा दुई तहमा आयो—पहिलो, परिवारको कमाउने सदस्य गुमाउनु, दोस्रो, गुमाएको मान्छे आफ्नै हो भनेर प्रमाणित गर्नुपर्ने अवस्था।

शव अस्पतालमै, बाहिर न्यायको माग
अर्जुनको पहिचान खुलेपछि उनका दुई श्रीमती, छोरा, दाजुभाइ तथा आफन्त कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। अस्पतालबाहिर अहिले अर्जुनको न्याय माग्दै प्रदर्शन भइरहेको छ। परिवार, आफन्त र यातायात व्यवसायीहरू प्रदर्शनमा सहभागी छन्।

तर अर्जुनको शव अझै अस्पतालबाट निकालिएको छैन। परिवारका लागि अब प्रश्न केवल शव बुझ्ने वा अन्त्येष्टि गर्ने मात्र छैन। उनीहरू घटनाको वास्तविकता पनि बाहिर आउनुपर्ने माग गरिरहेका छन्।

आखिर त्रिपुरेश्वरमा भएको के थियो?
सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।

प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि चालकले आफैँ बसमा आगो लगाएका थिए। आगलागीमा गम्भीर घाइते भएका चालकलाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारका क्रममा सोमबार राति उनको मृत्यु भयो।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। तर अनुसन्धानको एउटा महत्वपूर्ण पाटो घटनाको सुरुवात र त्यसपछिको परिस्थितिसँगै मृतकको गलत पहिचान कसरी भयो भन्ने प्रश्न पनि बनेको छ।

मृतकको पहिचान कुनै औपचारिकता मात्र होइन। सही पहिचानले परिवारलाई शव बुझ्न, मृत्यु दर्ता गर्न, कानुनी प्रक्रिया अघि बढाउन तथा राज्यबाट प्राप्त हुने सम्भावित अधिकार र राहतको प्रक्रिया अघि बढाउन आधार दिन्छ।

त्यसैले सुरुमा गलत नाम सार्वजनिक हुनु सामान्य त्रुटिमा मात्र सीमित हुँदैन। यसले मृतकको परिवारलाई थप मानसिक पीडा र प्रशासनिक अन्योलमा पार्न सक्छ। प्रहरीले प्रारम्भिक पहिचानमा दावा लामा भनेको नाम कसरी आयो? पहिचान यकिन गर्ने क्रममा कहाँ त्रुटि भयो? र त्रिपुरेश्वरको घटनाको वास्तविक पृष्ठभूमि के थियो?

यी प्रश्नको जवाफ सम्बन्धित निकायको अनुसन्धानबाट आउन बाँकी छ। त्रिपुरेश्वरको बसमा लागेको आगो केही समयमै निभ्यो। तर त्यसको आगोले एउटा परिवारको कमाउने सदस्यलाई सधैँका लागि खोस्यो। त्यसपछि गलत पहिचानले परिवारलाई अर्को झट्का दियो।

आगो निभिसकेको छ। बस खरानी भइसकेको छ। तर अर्जुनको परिवारका लागि सुरु भएको पहिचानको अन्योल र न्यायको खोजी अझै बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट