प्रहरी हिरासतमा वडाध्यक्ष घाइते भएपछि विवाद, कुटपिटको आरोप–प्रहरीद्वारा अस्वीकार
काठमाडौँ– रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक प्रहरी हिरासतमा घाइते भएपछि घटना विवादमा परेको छ। विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको छ। नेपाली कम्युनिस्ट पार्टीले प्रहरी हिरासतमै कुटपिट भएको आरोप लगाएको छ। प्रहरीले भने कुटपिटको आरोप अस्वीकार गर्दै विक आफैँ ठोक्किएर घाइते भएको दाबी गरेको छ।
घाइते विकलाई थप उपचारका लागि बुधबार बिहान करिब ३ बजे रुकुम पश्चिमबाट सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको छ। उनको अहिले प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घटनापछि नेकपा रुकुम पश्चिमले वडाध्यक्ष विकलाई प्रहरी कार्यालयमा बोलाएर हत्कडी लगाई हिरासतमा राखेर कुटपिट गरिएको आरोप लगाएको छ।
पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमा विकलाई वडा सम्बन्धित विषयमा छलफल गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बोलाइएको र कार्यालय परिसरमा पुगेपछि नियन्त्रणमा लिइएको उल्लेख छ। पार्टी जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका जनप्रतिनिधिमाथि कुटपिट हुनु गम्भीर र अमानवीय घटना भएको भन्दै विकलाई तत्काल निःशर्त रिहा गर्न, निःशुल्क उपचारको व्यवस्था गर्न तथा कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।
तर प्रहरीले विकलाई कुटपिट गरेको आरोप अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेदप्रसाद पौडेलका अनुसार विकका भाइ गोपाल विकविरुद्ध अभद्र व्यवहार तथा राष्ट्रसेवक कर्मचारीको कर्तव्यमा बाधा पु¥याएकोसम्बन्धी जाहेरी परेको थियो।
प्रहरीका अनुसार आठविसकोटको भम्पु–नदुवा सडकखण्डमा काम गरिरहेका निर्माण व्यवसायीको जेसीभी मेसिनको चाबी लिएर धम्की दिँदै पैसा मागेको विषयमा गोपालविरुद्ध जाहेरी परेको थियो। गोपाल बजारमै रहेको सूचना पाएपछि असोज २० गते बिहान प्रहरी टोली उनलाई पक्राउ गर्न मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिरनजिक पुगेको थियो।
त्यस क्रममा गोपालका दाइसमेत रहेका वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद, गालीगलौज तथा हातपात गरेको र भाइलाई पक्राउबाट जोगाउँदै भगाउन भूमिका खेलेको प्रहरीको दाबी छ। प्रहरीले यही घटनामा केशरमानलाई ‘राष्ट्रसेवक कर्मचारीको कर्तव्यमा बाधा पु¥याएको’ आरोपमा नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। गोपालको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी पौडेलले वडाध्यक्षलाई हिरासतमा कुटपिट नगरिएको दाबी गर्दै उनको घाइते अवस्थाबारे फरक व्याख्या गरेका छन्। उनका अनुसार हिरासतमा कुटपिट भएको भन्दै विकले ‘नाटक मञ्चन’ गरेको र आफैँ ठोक्किएर घाइते भएको प्रहरीको बुझाइ छ। स्वास्थ्यमा गम्भीर समस्या नरहेको भए पनि बिरामी भएको भन्दै उनलाई प्रदेश अस्पताल पठाइएको पौडेलको दाबी छ।
प्रहरीको यो दाबीलाई नेकपाले अस्वीकार गरेको छ। पार्टी जिल्ला संयोजक रोकाले यदि हिरासतमा कुटपिट नभएको हो भने घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेर वास्तविकता स्पष्ट पार्न माग गरेका छन्। घटनामा अहिले दुईवटा दाबी आमनेसामने छन—वडाध्यक्ष पक्षले प्रहरी हिरासतमै कुटपिट भएको आरोप लगाएको छ भने प्रहरीले उनलाई कुटपिट नगरेको र पक्राउ प्रक्रियामा अवरोध तथा प्रहरीमाथि अभद्र व्यवहार गरेका कारण नियन्त्रणमा लिएको जनाएको छ।
विक आठविसकोट नगरपालिका–३ बाट दुई पटक वडाध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्यसमेत हुन्। हिरासतमा पुगेका जनप्रतिनिधि घाइते भएर अस्पताल भर्ना भएपछि घटना थप संवेदनशील बनेको छ। कुटपिट भएको हो वा प्रहरीको दाबीअनुसार अन्य कारणले चोट लागेको हो भन्ने विषयमा स्वतन्त्र छानबिन र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग उठेपछि घटनाको निष्पक्ष अनुसन्धानले मात्र विवादको वास्तविकता स्पष्ट गर्ने देखिन्छ।
लोकप्रिय
प्रधानमन्त्रीकै सुराकी गर्दै थिए एआईजी दाहाल ? चोलेन्द्रको मोबाइलबाट खुलेको सूचना श्रृंखला, बालेन सरकारको एक्सनमा निलम्बन

