पशुपतिमा गैरहिन्दु प्रवेशको भिडियो भाइरल, इटहरीबाट प्रियंका र ओसिम पक्राउ
राजविराज– पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दु प्रवेश गरेको विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भिडियोपछि इटहरीका प्रियंका परियार र उनका श्रीमान् ओसिम अन्सारी पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोषको जाहेरी तथा गौशाला प्रहरीको निर्देशनपछि मंगलबार राति इटहरीबाट नियन्त्रणमा लिइएका उनीहरूलाई बुधबार बिहान विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाइएको हो।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार दुवैलाई इटहरीको गैसार क्षेत्रबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ। उनीहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान र सोधपुछ काठमाडौंमा अघि बढाइनेछ।
विवादको सुरुवात असोज १९ गते पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट एक जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भएको हो। ‘प्रियंका सनी’ नामको टिकटक अकाउन्टबाट सार्वजनिक भएको भिडियोमा आफूलाई मुस्लिम समुदायको देखाउने पुरुषसहितको जोडी पशुपति क्षेत्रको प्रवेश भाग हुँदै अगाडि बढेको देखिएपछि घटना चर्चामा आएको थियो।
शुपति क्षेत्र विकास कोषले समेत उक्त भिडियोबारे आपत्ति जनाउँदै छानबिन प्रक्रिया अघि बढाएको छ। पशुपति क्षेत्र विकास कोषको आधिकारिक विवरणअनुसार गैरहिन्दु आगन्तुकलाई पशुपति क्षेत्रका खुला भाग, घाट तथा बगैँचासहितको परिसरमा प्रवेश गर्न सकिने भए पनि मुख्य गर्भगृहमा प्रवेशको अनुमति छैन।
सार्वजनिक भिडियोमा प्रियंकाले मन्दिर क्षेत्रमा प्रवेश गर्नुअघि जुत्ता–चप्पल राख्ने स्थानबाट भिडियो बनाएको, त्यसपछि दक्षिणतर्फको प्रवेश क्षेत्र हुँदै अगाडि बढेको र उनीहरू मन्दिरको मूल प्रवेश क्षेत्रसम्म पुगेको देखिएको छ। त्यहाँ ड्युटीमा खटिएका सुरक्षाकर्मीसँग उनीहरूको कुराकानीसमेत भएको बताइएको छ।
तर उनीहरू मुख्य मन्दिरको गर्भगृहसम्म पुगेका थिए वा प्रवेशकै क्रममा सुरक्षाकर्मीले रोकेका थिए भन्ने विषयमा फरक दाबी छन्। पक्राउ पर्नुअघि प्रियंकाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूहरू पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश नगरेको बताएकी थिइन्। उनका अनुसार मन्दिरको मूल ढोकाबाट भित्र प्रवेश गरे पनि सुरक्षाकर्मीले भ¥याङबाटै फर्काइदिएका थिए।
उनले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र आफ्ना श्रीमान् अन्सारीलाई पनि मन्दिर देखाउने उद्देश्यले त्यहाँ लगेको बताएकी छिन्। आफू नेपाली नागरिक भएर पनि नेपालमै बस्न गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमा आफ्नो पक्ष राखेकी थिइन्।
अन्सारीले भिडियोमा मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्। उनले गैरहिन्दुका लागि मुख्य मन्दिरमा प्रवेश निषेध रहेको अवस्थामा उनीहरू त्यहाँसम्म कसरी पुगे भन्ने विषयमा प्रश्न गर्दै पशुपति क्षेत्रको सुरक्षा र प्रवेश व्यवस्थाबारे जवाफ खोजेकी छिन्।
घटना सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषको आकस्मिक बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ। कोषले घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ।
कोषको छानबिनसँगै घटनाको सुरक्षा पक्ष पनि प्रश्नमा आएको छ। पशुपति क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक तथा अन्य कर्मचारी परिचालन हुने र विभिन्न स्थानमा निगरानी तथा सीसीटीभीको व्यवस्था रहेको अवस्थामा निषेधित क्षेत्रमा प्रवेशको भिडियो कसरी बन्यो भन्ने प्रश्न उठेको छ।
विशेषगरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्रै घटना व्यापक रूपमा चर्चामा आएको भन्दै सुरक्षा संयन्त्रको निगरानी प्रभावकारितामाथि प्रश्न उठाइएको छ। घटनाका बेला ड्युटीमा रहेका सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीको भूमिकाबारे पनि छानबिन हुनुपर्ने आवाज उठेको छ।
यसै विषयमा विश्व हिन्दू परिषद् नेपालअन्तर्गतको मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले समेत पशुपतिनाथको धार्मिक परम्परा र प्रवेश व्यवस्थाको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने जनाएको छ। उसले मन्दिरमा गैरहिन्दु प्रवेश कसरी सम्भव भयो, सुरक्षाकर्मी तथा कर्मचारीको भूमिका के थियो र घटनापछि तत्काल कदम किन चालिएन भन्ने विषयमा स्पष्ट पार्न माग गरेको छ।
यता, पक्राउ परेका प्रियंका र अन्सारीले आफूहरू मन्दिरको गर्भगृहमा प्रवेश नगरेको दाबी गरिरहेका छन्। उनीहरू केही दिनअघि पशुपतिनाथ पुगेका बेला भिडियो बनाएको र त्यसैलाई लिएर विवाद उत्पन्न भएको उनीहरूको भनाइ छ।
इटहरीका स्थायी बासिन्दा अन्सारी व्यापार व्यवसायमा संलग्न रहेको बताइएको छ। प्रियंका सामाजिक सञ्जालमा सक्रिय छिन्। उनीहरूबीच प्रेम विवाह भएको बताइएको छ। यता, अन्सारीको व्यवसायसँग सम्बन्धित विषयमा राजस्व कार्यालयमा मुद्दा परेको र जरिवाना तोकिएको दाबीसमेत गरिएको छ। तर उक्त विषयमा सम्बन्धित निकायबाट आधिकारिक अभिलेख वा विस्तृत विवरण सार्वजनिक भएको छैन।
लोकप्रिय
प्रधानमन्त्रीकै सुराकी गर्दै थिए एआईजी दाहाल ? चोलेन्द्रको मोबाइलबाट खुलेको सूचना श्रृंखला, बालेन सरकारको एक्सनमा निलम्बन

