‘एकछिन काम छ’ भन्दै १६ वर्षीय किशोरको अपहरण, जंगल पुर्याई खुकुरी देखाएर ज्यान मार्ने धम्कीः पाँच पक्राउ
काठमाडौँ— कञ्चनपुरको बेलौरीमा १६ वर्षीय किशोरलाई जबर्जस्ती जंगलमा लगेर बन्धक बनाएको, कुटपिट गरेको र खुकुरी देखाउँदै ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनासम्बन्धी भिडियोसमेत सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोप लागेका अर्का एक जना भने फरार छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९ रतनपुरका किशोरलाई असोज २३ गते दिउँसो करिब ४ बजे ‘एकछिन काम छ’ भन्दै केही युवाले जबर्जस्ती स्कुटरमा राखेर खजुवा जंगल लगेका थिए।
प्रहरीका अनुसार जंगलमा पुरानो रिसइबीका कारण किशोरलाई बन्धक बनाएर कुटपिट गरिएको थियो। त्यस क्रममा खुकुरी देखाएर ज्यान मार्ने धम्कीसमेत दिइएको प्रहरीको भनाइ छ। किशोरकी आमा जानकी अवस्थीले घटनाबारे इलाका प्रहरी कार्यालय बेलडाँडीमा मौखिक जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले बेलौरी नगरपालिका–९ रतनपुरका पाँच जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा छन्। घटनामा संलग्न रहेको आरोप लागेका २४ वर्षीय लक्ष्मण भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको स्कुटर र खुकुरीसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार आरोपितहरूलाई अनुसन्धानका लागि अदालतबाट १४ दिनको म्याद थप गरिएको छ।

