फेसबुकमा खुकुरी बोकेको फोटो हाल्दा प्रहरी हिरासतमा पुगे १८ वर्षीय युवक
जनकपुर— सामाजिक सञ्जाल फेसबुकमा हातमा खुकुरी बोकेको तस्बिर राखेर सर्वसाधारणमा डरत्रास फैलाएको आरोपमा धनुषा प्रहरीले १८ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोल निवासी ‘काले’ भन्ने सुमन पटेल छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पटेलले आफ्नो फेसबुकमा धारिलो हतियार खुकुरी बोकेको आपत्तिजनक तस्बिर अपलोड गरेका थिए।
उक्त तस्बिरले सर्वसाधारणमा भय र त्रासको वातावरण सिर्जना गरेको प्रहरीको भनाइ छ। सामाजिक सञ्जालमा उक्त गतिविधि देखिएपछि प्रहरीले पटेललाई आइतबार साँझ करिब साढे ५ बजे उनकै घरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ परेका पटेलमाथि आवश्यक अनुसन्धान भइरहेको छ। उनीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले तस्बिरकै आधारमा नियन्त्रणमा लिइएको घटनामा अनुसन्धान जारी रहेकाले आरोप पुष्टि हुन बाँकी रहेको जनाएको छ।


