प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घट्नामा इनरुवा अस्पतालका मेसुलाई जिम्मेवारीबाट हटाईयो

इनरुवा— प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको आरोपमा सुनसरी जिल्ला अस्पताल इनरुवा विवादमा तानिएपछि कोशी प्रदेश सरकारले छानबिन सुरु गरेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ भने विवादमा तानिएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोषप्रसाद साहलाई जिम्मेवारीबाट हटाएको छ।

गत असोज २१ गते राति प्रसव व्यथाले च्यापेपछि सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदालाई परिवारले जिल्ला अस्पताल इनरुवा पुर्‍याएका थिए। तर, अस्पतालले भर्ना लिन नमानेपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लैजानुपरेको थियो। कोशी अस्पताल परिसरबाहिर पुग्ने क्रममा उनले एम्बुलेन्सभित्रै शिशुलाई जन्म दिएकी थिइन्।

पीडित परिवारका अनुसार इनरुवा अस्पतालले आवश्यक कागजात नपुगेको र प्रसूतिको अवस्था उच्च जोखिममा रहेको भन्दै भर्ना लिन अस्वीकार गरेको थियो। अस्पतालले भर्ना नलिएपछि आफूहरू अर्को अस्पताल जान बाध्य भएको परिवारको भनाइ छ। पीडित पक्षले आवश्यक स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत नगरिएको आरोप लगाएको छ।

घटनाबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले छानबिन अघि बढाएको हो। मन्त्रालयले प्रशासन महाशाखा प्रमुख (उपसचिव) को संयोजकत्वमा विषयविज्ञसहित पाँच सदस्यीय समिति गठन गरेको जनाएको छ।

मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा. सभ्यता पन्थीका अनुसार छानबिन निष्पक्ष बनाउन र प्रक्रियालाई प्रभावित हुन नदिन निष्कर्ष नआएसम्मका लागि निमित्त मेसु साहलाई अस्पताल प्रमुखको जिम्मेवारीबाट अलग गरिएको हो। जिम्मेवारीबाट हटाउने निर्णयलाई छानबिनको निष्कर्ष वा दोष पुष्टि भएको अर्थमा भने लिन मिल्दैन।

मन्त्रालयले छानबिनका क्रममा अस्पताल प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीको संलग्नता प्रचलित कानुनविपरीत देखिएमा कानुनअनुसार कडा कारबाही गर्ने जनाएको छ।

अब समितिले प्रसव पीडामा अस्पताल पुगेकी महिलालाई भर्ना नलिनुको कारण, अस्पतालमा उनको अवस्थाको मूल्यांकन कसरी गरियो, आवश्यक परीक्षण तथा प्राथमिक उपचार भए–नभएको र निर्णय प्रक्रियामा को–को जिम्मेवार थिए भन्ने विषयको तथ्य पत्ता लगाउनुपर्नेछ।

छानबिनको निष्कर्षपछि मात्रै अस्पतालले भर्ना लिन अस्वीकार गरेको निर्णयको आधार, उपचार प्रक्रियामा कमजोरी भए–नभएको र जिम्मेवार पक्षबारे स्पष्ट हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट