धानको भुसले छोपेर पिकअपमा गाँजा तस्करी, १५९ किलो गाँजासहित सप्तरीका चालक पक्राउ
राजविराज— धानको भुसका बोराले छोपेर पिकअपमा लैजाँदै गरिएको १५९ किलो ४०० ग्राम गाँजासहित सप्तरीका एक चालक उदयपुरमा पक्राउ परेका छन्। बेलका नगरपालिका–५ सुपाडे देउरालीमा प्रहरीले जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप फत्तेपुरतर्फ जाँदै गर्दा जाँच गरिएको थियो। पिकअपमा धानको भुसका बोराले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–८, ओद्राहा निवासी अन्दाजी २८ वर्षीय पशुपति साफी छन्। प्रहरी चौकी लालबजार, उदयपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको कमान्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
बरामद गाँजाको तौल १५९ किलो ४०० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

