सांसदको डेरासहित तीन घरमा चोरी गर्ने गिरोह पक्राउ, सुन लुकाउनेदेखि बेहोसीको नाटक गर्नेसम्मको ‘ट्रिक’!

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)को डेरासहित काठमाडौँको कलंकी क्षेत्रका तीन घरमा चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक महिलाले चोरीको सुन शरीरमा लुकाएर राखेको र दुई जनाले प्रहरी पुगेपछि बेहोसीको नाटक गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक विकास पोदार, राजकुमार भन्ने राजु पोदार, लल्लु पोदार र वीणा देवी छन्। प्रहरीका अनुसार विकास, राजकुमार र लल्लु चोरीमा प्रत्यक्ष संलग्न रहेको तथा वीणाले चोरीका सुन व्यवस्थापन गर्ने भूमिका खेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वीणा विकासकी आमा हुन्।

दसैँको विजयादशमीका दिन कलंकीस्थित किसन सिंह बस्नेतको घरमा चोरी भएको थियो। सोही घरको फ्ल्याट भाडामा लिएर बसेकी सांसद थपलियाको डेरासमेत चोरले निशाना बनाएका थिए। घरबेटी बस्नेतको कोठाबाट पनि गरगहना, चाँदीका भाँडाकुँडा र अन्य सामान चोरी भएको प्रहरीले जनाएको छ।

थपलिया दसैँ मनाउन असोज ३१ गते सुर्खेतस्थित आफन्तको घर गएकी थिइन्। कात्तिक ५ गते काठमाडौं फर्किएपछि डेराको ढोका फोडिएको र सामान चोरी भएको देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्।

थपलियाका अनुसार चोरले छोराछोरीको पास्नीका लागि बनाइएका सुनका गरगहना र श्रीमानका औँठीसमेत लगेका थिए। घरबेटीको घरबाट दुई बोतल वाइनसहित चाँदीका भाँडाकुँडा र गरगहना पनि चोरी भएको थियो।

अनुसन्धानका क्रममा कात्तिक ५ गते नै कलंकीको रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा पनि चोरी भएको खुलेको प्रहरीले जनाएको छ। यसरी एउटै शैलीमा तीनवटा घरमा चोरी भएको पाइएपछि प्रहरीले घटनामा एउटै समूह संलग्न रहेको निष्कर्षसहित अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार गिरोहले घरको मूल ढोकामा ताला लगाइएको छ कि छैन भन्ने हेरेर चोरीका लागि घर छनोट गथ्र्यो। मूल ढोकामा ताला लागेको घरमा प्रवेश गरी ताला र ढोका फोड्ने, दराज खोतल्ने तथा सुनचाँदीका गरगहना र नगद लिएर भाग्ने उनीहरूको तरिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बस्नेतको घरमा पनि चोरले पहिले माथिल्लो तलामा रहेको घरबेटीको कोठाको ढोका फोडेर चोरी गरेका थिए। त्यसपछि सांसद थपलियाको कोठाअगाडि रहेको च्यानल गेटको ताला फोडेर भित्र पसेको प्रहरीले जनाएको छ।

निरञ्जन नेपालको घरमा भने मूल गेटमा ताला लगाइएको थियो। घरका केही कोठामा बत्ती बलेको देखेपछि घरमा मानिस रहेको भ्रम सिर्जना गर्न बत्ती बालिएको हुन सक्ने ठानेर ताला फोडी चोरी गरेको बयान आरोपितहरूले दिएको प्रहरीको भनाइ छ।

सुन शरीरमा लुकाएको अवस्थामा बरामद
तीनवटै घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले सुरुमा वीणा र विकासलाई पक्राउ गरेको थियो। उनीहरूको गतिविधि शंकास्पद देखिएको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएको बताइएको छ।

उनीहरूबाट प्राप्त सूचनाका आधारमा प्रहरी सतुंगलमा डेरा गरी बस्ने राजेन्द्र पोदार भन्ने राजेन्द्रकुमार र राजु पोदारसम्म पुगेको थियो। प्रहरीका अनुसार उनीहरू चोरीका सामान पोको पारेर भारत जाने तयारीमा थिए।

प्रहरी टोली पुगेपछि राजु र राजेन्द्रले बेहोस भएको नाटक गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्। उनीहरूले केहीबेर आँखा बन्द गरेर बेहोस भएजस्तो व्यवहार गरेको र प्रहरी फर्किन लागेको जस्तो देखाउँदा आँखा खोलेको ती अधिकारीको भनाइ छ।

प्रहरीले उनीहरूले पोको पारेको सामान जाँच गर्दा चाँदीका गरगहना र भाँडाकुँडा फेला पारेको जनाएको छ।

त्यसैगरी, कालीमाटीबाट पक्राउ परेकी वीणाको खानतलासी गर्दा सुनका औँठी, तिलहरी र सिक्री प्लास्टिकमा पोको पारेर शरीरमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सुरुमा टोलीमा महिला प्रहरी नरहेको र वीणाको हाउभाउ शंकास्पद देखिएपछि महिला प्रहरी बोलाएर खानतलासी गर्दा सुन बरामद भएको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीका गरगहना र चोरीमा प्रयोग गरिएका औजारलगायत सामग्री बरामद गरेको जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामाथि चोरीका घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको छ। प्रहरीले चाडपर्वका बेला घरमा ताला लगाएर बाहिर जाने परिवारलाई लक्षित गरी चोरी गर्ने समूहको गतिविधिबारे पनि अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट