अन्तिम ३ ओभरमा पल्टियो खेलः विराटनगरलाई ८ रनले हराउँदै चितवनको रोमाञ्चक जित

काठमाडौंँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। केही समय जितको नजिक पुगेको विराटनगर अन्तिम समयमा सम्हालिन नसक्दा चितवनले रोमाञ्चक जित निकालेको हो।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। अन्तिम १८ बलमा २१ रन आवश्यक रहेको अवस्थामा चितवनका बलर कमलसिंह ऐरीले लगातार दुई विकेट लिएपछि खेलको दिशा बदलिएको थियो।

विराटनगरका लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। लोकेश बमले १४ बलमा २६ रन जोड्दै पहिलो विकेटका लागि इम्रानसँग ४० रनको साझेदारी गरेका थिए।

आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ छक्का र १ चौकासहित ३३ रन बनाए। उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरे पनि विराटनगरलाई जितसम्म पु¥याउन सकेनन्। म्याथ्युजले १४ तथा बसिर अहमदले १३ रन बनाए।

विराटनगरको इनिङ्सलाई रोक्न चितवनका कमलसिंह ऐरी निर्णायक बने। उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। १८औँ ओभरमा लगातार दुई विकेट लिँदै उनले विराटनगरलाई दबाबमा पारे। रुपेश सिंह र प्रतिश जिसी खाता नखोली आउट भए। त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना कमजोर बन्यो।

चितवनका लागि रिजन ढकालले दुई विकेट लिए भने टम टेलर, डान मोस्ली, मौसम ढकाल र रञ्जित कुमारले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। उसका लागि ओपनर डेभिड मलानले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे।

मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए। विकेटकिपर ब्याटर अर्जुन साउदले नौ बलमा तीन रन मात्रै जोड्न सके।

मलान १३औँ ओभरमा आउट भएपछि चितवनको इनिङ्सलाई कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले। दुवैले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलमा पु¥याए। कप्तान बोपाराले अविजित ३२ र मोस्लीले अविजित २९ रन बनाए।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए।

चितवनले ब्याटिङमा बनाएको १५७ रनको रक्षा गर्दै प्रतियोगितामा महत्वपूर्ण जित निकालेको छ। विराटनगर भने अन्तिम तीन ओभरमा दबाब सम्हाल्न नसक्दा जितको नजिक पुगेर पनि पराजित भयो।

एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट