‘५ मिनेटमा फर्किन्छु’ भन्दै निस्किएका ब्याट्री व्यवसायीको शव बोराभित्र खोलामा भेटियो, खाना खान बोलाएर हत्या गरेको खुलासा!
विराटनगर– पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसमा विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्या आरोपमा विराटनगर महानगरपालिका–६ निवासी ३७ वर्षीय अब्जर मिया पक्राउ परेका छन्।
विराटनगर–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका ६० वर्षीय गुप्ताको हत्या आरोपमा मियालाई मंगलबार साँझ पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिएका छन्।
प्रहरीले मियाले गुप्तालाई घरमा खाना खान बोलाएर मदिरा सेवन गराएपछि बियरको बोतल र रडले प्रहार गरी हत्या गरेको तथा शव बोरामा राखेर खोलामा फालेको आरोप लगाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले आफ्नो पसलबाट सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए।
यही विषयलाई लिएर मिया गुप्तासँग असन्तुष्ट रहेको र त्यसैको रिसमा हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यद्यपि घटनाको विस्तृत विवरण र आरोपको पुष्टि अनुसन्धान तथा कानुनी प्रक्रियाबाट हुन बाँकी छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। घरमा पुगेपछि दुवैले मदिरा सेवन गरेको र त्यस क्रममा मियाले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि रडले प्रहार गरी उनको हत्या गरेको प्रहरीको भनाइ छ।
गुप्ताको हत्या भएपछि शव लुकाउन तथा व्यवस्थापन गर्न सिटी सफारी प्रयोग गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शवलाई बोराभित्र राखेर सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा फालिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
खोलामा बोराभित्र शव फेला परेपछि घटनाको अनुसन्धान सुरु भएको थियो। स्थानीयवासीले आइतबार बिहान खोलामा शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको पहिचान तथा हत्यामा संलग्न व्यक्तिको खोजीका लागि सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रका अनुसार गुप्ता आइतबार आफ्नो पसलबाट ‘पाँच मिनेटमा फर्किन्छु’ भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि पसलमा फर्किएनन्। केही समयपछि केसेलिया खोलामा बोराभित्र शव भेटिएपछि उनको मृत्युको घटना सार्वजनिक भएको थियो।
भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएको बताइएको छ। घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गरिरहेको छ। घटनाबारे थप विवरण सार्वजनिक गर्न सुनसरी प्रहरीले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले चोरीको आरोपलाई हत्याको सम्भावित कारणका रूपमा औँल्याए पनि घटनाको पूर्ण विवरण, शव व्यवस्थापनमा प्रयोग गरिएको सिटी सफारीको भूमिका तथा अन्य सम्भावित प्रमाणबारे थप अनुसन्धान हुन बाँकी छ।
लोकप्रिय
सप्तरीमा सुरक्षा योजना कागजमै सीमितः ८९६ सुरक्षाकर्मी परिचालन हुँदा पनि रोकिएन हत्या र सामूहिक बलात्कार
सांसदको डेरासहित तीन घरमा चोरी गर्ने गिरोह पक्राउ, सुन लुकाउनेदेखि बेहोसीको नाटक गर्नेसम्मको ‘ट्रिक’!
ताजा अपडेट
‘५ मिनेटमा फर्किन्छु’ भन्दै निस्किएका ब्याट्री व्यवसायीको शव बोराभित्र खोलामा भेटियो, खाना खान बोलाएर हत्या गरेको खुलासा!

