मोरङमा आठ राउन्ड गोली चलाएर तीन जना पक्राउ, आधा किलो ब्राउन सुगर र पेस्तोल बरामद

विराटनगर— लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा निगरानीमा खटिएको प्रहरी टोलीले मोरङको रतुवामाईमा गोली चलाएर तीन जनालाई पक्राउ गरेको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रनजिक बिहीबार राति भएको घटनामा प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्।

पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान घरेलु पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते हुनेमा भारतको अररिया जिल्ला, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक छन्।

उनीहरू दुवैको घुँडामुनि गोली लागेको छ। घाइते दुवैलाई सुरुमा झुर्कियास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन्। प्रहरीले उनीहरू सवार दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूमाथि निगरानी गरिरहेको थियो।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंबाट इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा आएको टोली र ब्युरोको विराटनगरस्थित टोली संयुक्त रूपमा परिचालित थिए। बिहीबार राति करिब साढे ९ बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा दुईवटा मोटरसाइकलमा सवार तीन जना प्रहरीको निगरानीमा परे। तीमध्ये एउटा मोटरसाइकलमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ थियो भने अर्को मोटरसाइकलको नम्बर तत्काल खुलेको थिएन।

प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा उनीहरू भाग्न खोजेको डीएसपी मिश्रले बताए। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै गोली प्रहारको प्रयास भएको र त्यसपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको उनको भनाइ छ।

मिश्रका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली चलाएको थियो। प्रहरीको गोली लागेर दीपक र पुरन घाइते भएका हुन्। उनीहरू दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले करिब आधा किलो खैरो हेरोइन, एक थान घरेलु पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद गरेको छ। प्रहरीले चलाएको चाइनिज र ब्रेडा पेस्तोल भने प्रहरीकै हतियार हुन, पक्राउ परेकाहरूको साथबाट बरामद भएको हतियार घरेलु पेस्तोल रहेको डीएसपी मिश्रले बताएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको आशंका छ। उनीहरूले बरामद भएको लागुऔषध कहाँबाट ल्याएका थिए, कसलाई पु¥याउन लागेका थिए र कारोबारमा अरू कोको संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय सिजुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ। घटनाको थप अनुसन्धान इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गरेको लागुऔषधको स्रोत, सीमापार ओसारपसारको सम्भावित सञ्जाल, कारोबारको गन्तव्य र पक्राउ परेकाहरूका अन्य सम्पर्कबारे अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट