कारागारभित्र ४ मिटर सुरुङ खनेर आठ कैदी फरार, १७ मध्ये आठ भाग्दा सुरक्षाकर्मीले कसरी सुइँको पाएनन् ?

काठमाडौँ– हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। शुक्रबार राति करिब २ बजे ठूलीभेरी नगरपालिका–३ स्थित कारागारबाट उनीहरू फरार भएको प्रारम्भिक विवरण छ।

फरार हुनेमा कैद सजाय भुक्तान गरिरहेका छ जना कैदी र पुर्पक्षका लागि थुनामा रहेका दुई जना वन्दी छन्। कारागारमा जम्मा १७ जना कैदीबन्दी रहेकोमा आठ जना एकैपटक बाहिरिएपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

प्रारम्भिक विवरणअनुसार उनीहरूले कैदीबन्दी बस्ने कोठाबाट पुरानो सेप्टी ट्याङ्की हुँदै बाहिर खेलमैदानतर्फ करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेका थिए। सुरुङ खनेर बाहिर निस्कने काम एकै रातमा सम्भव भएको हो वा त्यसका लागि उनीहरूले लामो समयदेखि तयारी गरिरहेका थिए भन्ने खुलेको छैन। सुरुङ खन्न प्रयोग गरिएका औजार कहाँबाट ल्याइयो र कारागारभित्र त्यसको प्रयोग भइरहँदा सुरक्षाकर्मीले किन थाहा पाएनन् भन्ने पनि अनुसन्धानको विषय बनेको छ।

शनिबार बिहान ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो। जानकारी प्राप्त हुनासाथ सीडीओ जुनु हमाल ढकाल र जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलराज गिरीसहितको टोली कारागार पुगेको थियो। त्यसपछि प्रहरी टोलीले फरार कैदीबन्दीको खोजी सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार डीएसपी गिरीको कमाण्डमा ३४ जनाको टोली परिचालन गरी खोजी कार्य अघि बढाइएको छ। सम्भावित नाकाहरूमा निगरानी कडा पारिएको र फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका व्यक्ति हुन्। उनीहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का धन बुढा भन्ने २८ वर्षीय हरिबहादुर बुढा छन्।

त्यस्तै, चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ।

कारागार भेरी नदीको किनारमा अवस्थित छ। सुरुङ नदीतर्फ खोलिएको हो वा खेलमैदानतर्फबाट बाहिर निस्कने गरी खनिएको हो भन्ने विषयमा प्रारम्भिक विवरणमा फरक–फरक अनुमान आएका छन्। उपलब्ध विवरणअनुसार सुरुङ पुरानो सेप्टी ट्याङ्की हुँदै खेलमैदानतर्फ पुगेको बताइएको छ। उनीहरू कारागारबाट बाहिरिएपछि कुन बाटो प्रयोग गरेर गए भन्ने यकिन भइसकेको छैन।

यो घटनाले कारागारको सुरक्षा प्रणालीमा सामान्य कमजोरीभन्दा गम्भीर प्रकृतिको प्रश्न खडा गरेको छ। कारागारभित्र सुरुङ खन्ने काम कसरी सम्भव भयो? त्यसका लागि आवश्यक औजार कसले र कसरी भित्र पु¥यायो? कैदी बस्ने कोठाबाट सेप्टी ट्याङ्की हुँदै बाहिर निस्कने बाटो तयार पारिँदासम्म नियमित निगरानीमा रहेका सुरक्षाकर्मीले किन पत्तो पाएनन? यति लामो सुरुङ खन्न लाग्ने समयभरि कुनै शंका वा गतिविधि देखिएन?

अर्को महत्वपूर्ण प्रश्न कैदी गणनाको नियमिततासँग जोडिएको छ। आठ जना फरार भएको कुरा शनिबार बिहान ६ बजे गणनाका क्रममा मात्र थाहा भएको विवरण छ। उनीहरू राति करिब २ बजे नै भागेका हुन् भने त्यसबीचको समय कारागारको सुरक्षा निगरानी कसरी सञ्चालन भइरहेको थियो भन्ने स्पष्ट हुन आवश्यक छ।

१७ जना मात्रै कैदीबन्दी तथा थुनुवा रहेको कारागारबाट एकैपटक आठ जना फरार हुनु सामान्य घटना होइन। यसले कैदीबन्दीको निगरानी, भौतिक संरचनाको सुरक्षा, सुरक्षाकर्मीको ड्युटी प्रणाली र नियमित गणनाको प्रभावकारितामाथि प्रश्न उठाएको छ। घटनामा लापरबाही भएको हो वा योजनाबद्ध रूपमा सुरक्षा कमजोरीको फाइदा उठाइएको हो भन्ने अनुसन्धानबाट खुल्न बाँकी छ।

प्रहरीले फरार कैदीबन्दीको खोजी जारी रहेको जनाएको छ। तर उनीहरूलाई पक्राउ गर्नु मात्र पर्याप्त हुनेछैन। कारागारभित्र सुरुङ खन्ने योजना कसरी सफल भयो, त्यसमा कसैको सहयोग वा मिलेमतो थियो कि थिएन र सुरक्षा निगरानीमा कहाँ कमजोरी रह्यो भन्ने विषयको निष्पक्ष छानबिन पनि उत्तिकै आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट