सुराकीमा खटिएका थिए श्रीमान–श्रीमती, सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु, श्रीमती आईसीयूमा

रौतहट- रौतहटको दुधिअवा–बालचनपुर सडकमा बिहीबार साँझ एउटा दुर्घटनाले प्रहरी परिवारमा गहिरो पीडा दियो। फरार प्रतिवादीको खोजीमा सादा पोसाकमा सँगै खटिएका प्रहरी जवान सुभाष चौधरी र उनकी श्रीमती निशा खड्का मोटरसाइकलमा फर्किरहेका थिए। विपरीत दिशाबाट आएको ट्याक्टरसँग मोटरसाइकल ठोक्कियो। दुर्घटनामा सुभाषको ज्यान गयो, निशा गम्भीर घाइते भइन्। अहिको वीरगन्जस्थित अस्पतालको आईसीयूमा उपचाररत छन्।

ड्युटीमा सँगै निस्किएका श्रीमान–श्रीमतीमध्ये एक जना अब फर्किएनन्। अर्का अस्पतालको शैय्यामा जीवनसँग संघर्ष गरिरहेकी छिन्। रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राँगी टोलस्थित दुधिअवा–बालचनपुर सडक खण्डमा बिहीबार साँझ ना २ त ४७८६ नम्बरको ट्याक्टर र बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

ट्याक्टर दुधिअवाबाट बालचनपुरतर्फ जाँदै थियो भने मोटरसाइकल विपरीत दिशाबाट आइरहेको थियो। दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का घाइते भए। दुवैलाई उद्वार गरी उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा चिकित्सकले सुभाषलाई मृत घोषणा गरे।

निशाको अवस्था गम्भीर छ। उनको दाहिने खुट्टा भाँचिएको छ र अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। श्रीमान् गुमाएकी निशा आफैँ जीवनका लागि संघर्ष गरिरहेकी छिन्। रौतहटको गुजरा नगरपालिका–४ पोखरिभिन्डा घर भएका सुभाष र निशा दुवै प्रहरी सेवामा कार्यरत थिए। सुभाष बाराको सिमरनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। उनीहरू फरार प्रतिवादीको खोजीका लागि बाराबाट खटिएका थिए।

कामको सिलसिलामा दुवै जना सादा पोसाकमा एउटै मोटरसाइकलमा निस्किएका थिए। उनीहरूलाई श्रीमान–श्रीमतीका रूपमा सँगै खटाउनुको कारण पनि कामसँग जोडिएको थियो। इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहका अनुसार श्रीमान–श्रीमती सँगै हिँड्दा फरार प्रतिवादीले प्रहरी टोली भएको सहजै थाहा नपाउने भएकाले उनीहरूलाई त्यसरी खटाइएको थियो।

‘दुवै जना श्रीमान–श्रीमती मोटरसाइकलमा जाँदा फरार प्रतिवादीहरूले थाहा पाउँदैनन् भनेर खटाएको हुँ,’ साहले भने, ‘गाउँबाट फर्कंदै गर्दा दुःखद घटना भयो। घटनाको अनुसन्धान हुँदै छ।’ दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी दुधिअवाबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते दुवैलाई उद्वार गरी अस्पताल पठाएको थियो। तर सुभाष नफर्कने यात्रामा निस्किए।

एउटै सेवामा रहेका, एउटै घरका र एउटै काममा सँगै खटिएका श्रीमान–श्रीमतीको जीवनमा आएको यो दुर्घटनाले परिवारलाई असह्य पीडा दिएको छ। ड्युटीमा सँगै निस्किएका उनीहरू घर फर्किने क्रममा दुर्घटनामा परे। सुभाषको यात्रा अस्पतालमै टुंगियो, निशाको उपचार जारी छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। ट्याक्टर र मोटरसाइकल ठोक्किएको घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट