आईजीपीबारे समाचार लेख्ने पत्रकार कार्यालयबाटै पक्राउ

काठमाडौँ– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको विषयमा समाचार प्रकाशित गरेको केही दिनमै पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन्।

नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाटै नियन्त्रणमा लिएको हो। सादा पोशाकमा पुगेका तीन जना प्रहरीले समाचार कक्षमै प्रवेश गरेर उनलाई आफ्नो साथमा जान भनेका थिए। त्यसपछि उनलाई प्रहरीको गाडीमा राखेर लगिएको नेपाल प्रेसमा कार्यरत पत्रकारहरूले बताएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको बताएका छन्। साइबर ब्युरोका अधिकृतहरूले भने नेपाल प्रेसमा प्रकाशित आईजीपीसम्बन्धी समाचारबारे सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको बताएका छन्।

नेपाल प्रेसका अनुसार सुवेदी समाचार कक्षमा काम गरिरहेका बेला तीन जना व्यक्ति कार्यालयभित्र प्रवेश गरेका थिए। उनीहरूले सुरुमा गेटमा रहेका सुरक्षा गार्डलाई साथी भेट्न आएको बताएका थिए। त्यसपछि समाचार कक्षमा पुगेर सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै आफूसँग जान आग्रह गरेका थिए।

समाचार कक्षमै रहेका पत्रकार राजाराम न्यौपानेका अनुसार उनीहरूले आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको र ‘आईजी साब’को आदेश रहेको बताएका थिए। तर, पक्राउ पुर्जी भने नदेखाएको उनको भनाइ छ।

सुवेदीले छलफल गर्नुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताएका थिए। तर प्रहरीले त्यसो गर्न अनुमति नदिई उनलाई आफ्नो गाडीमा राखेर लगेका थिए।

प्रहरीले पक्राउको कारण र कानुनी आधारबारे तत्काल स्पष्ट जानकारी नदिएको नेपाल प्रेसको भनाइ छ। सुवेदीसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको फोनसमेत उठेको छैन। प्रहरीका विभिन्न निकायले पनि सुरुमा उनको अवस्थाबारे स्पष्ट जानकारी दिएका थिएनन्।

प्रहरी स्रोतका अनुसार साइबर ब्युरोको आग्रहमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई साइबर ब्युरोमा बुझाउने तयारी रहेको स्रोतको दाबी छ। नेपाल प्रेसमा केही दिनअघि प्रकाशित समाचारमा आईजीपी कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यसबारे उनले कानुनी परामर्श थालेको उल्लेख थियो।

सोही समाचारको स्रोत खोज्न र त्यसबारे सोधपुछ गर्न सुवेदीलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ। तर समाचारमा उल्लेखित विषयको सत्यता, त्यसको स्रोत र पक्राउको कानुनी आधारबारे सम्बन्धित निकायबाट विस्तृत आधिकारिक विवरण सार्वजनिक भएको छैन।

यसअघि आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको थियो। एउटै दिन दुई पत्रकार पक्राउ परेपछि पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि प्रहरीको कारबाहीलाई लिएर प्रश्न उठ्ने अवस्था बनेको छ।

समाचारको विषयमा स्पष्टीकरण लिनु र पत्रकारलाई पक्राउ गरेर अनुसन्धानमा लैजानु फरक विषय हुन्। प्रकाशित समाचारमा कुनै कानुनी प्रश्न उठेको भए त्यसको छानबिन कानुनसम्मत प्रक्रियाबाट हुनुपर्ने हुन्छ। समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई कार्यालयबाटै नियन्त्रणमा लिनु, पक्राउको आधार स्पष्ट नगर्नु र पक्राउ पुर्जी नदेखाइएको आरोपले प्रहरीको कार्यशैलीमाथि थप प्रश्न खडा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट