रिक्सावालालाई महानगर बोलाएर सामान फाल्ने धम्की, आलोचना भएपछि आशिका तामाङको पत्रकार र सांसदलाई नै गालीगलौज !
काठमाडौँ— सडकमा जाम भएको भन्दै एउटा सामान्य रिक्सा चालकलाई महानगर बोलाएर सामान फालिदिने धम्की दिने सांसद आशिका तामाङ अहिले आफ्नै अभिव्यक्ति र व्यवहारका कारण आलोचनाको घेरामा परेकी छिन्। सार्वजनिक भएको एउटा भिडियोमा उनी सडक किनारमा किराना तथा प्याकेटका सामान राखेर बिक्री गरिरहेका रिक्सा चालकसँग आक्रोशित हुँदै प्रस्तुत भएकी देखिन्छिन्।
तर, भिडियो सार्वजनिक भएपछि आफ्नो व्यवहारबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा उनले पत्रकार र आलोचना गर्ने सांसदहरूलाई नै लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेकी छिन्। सामाजिक सञ्जालमा फैलिएको भिडियोमा सडकमा सवारीसाधनको जाम देखिन्छ। सडकको एकातर्फ सामान राखिएको रिक्सा छ भने अर्कोतर्फ आशिका तामाङको स्कारपियो देखिन्छ।
उनी गाडीबाट ओर्लिएर रिक्सा चालकलाई सामानसहितको ठेला सडकबाट हटाउन दबाब दिइरहेकी छिन्। भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने स्पष्ट खुलेको छैन। भिडियो उनकै चस्मामा जडित क्यामराबाट खिचिएको हुनसक्ने देखिए पनि यसको स्वतन्त्र पुष्टि भएको छैन।
भिडियोमा आशिकाले रिक्सा चालकलाई व्यस्त समयमा सामानको पोको बोकेर सडकमा नआउन भन्दै प्रश्न गर्छिन्। रिक्सा चालकले ‘अनि कहाँ राख्ने त ?’ भनेर प्रतिप्रश्न गर्दा उनी सडकको छेउबाट लैजान निर्देशन दिन्छिन्। ‘कुन बेला हो पोको बोक्ने ? सबै सडक उ गरेको मिल्छ तिमीले यो गर्नलाई ? सडक पुरै छोपेर ? आफ्नो लाइनमा चलाउन,’ उनी भन्छिन्। त्यसपछि जाम भएको भन्दै चालकलाई दोष दिँदै उनले महानगर बोलाएर सामान फालिदिने चेतावनीसमेत दिन्छिन्।
‘साइडमा लैजाऊ भाइ, मैले राम्रो कुरा भनिराछु। फेरि मैले महानगर बोलाएर तिम्रो पोका चाहिँ फाल्न नपरोस् नि,’ उनको भनाइ भिडियोमा सुनिन्छ।
त्यसक्रममा उनले आफ्नो स्कारपियोका चालकलाई गाडी अगाडि ल्याउनसमेत निर्देशन दिएको देखिन्छ। उता रिक्सा चालक भने उनीसँग विवाद नगरी चुपचाप बसेको देखिन्छ। सडकमा अव्यवस्थित रूपमा सामान राख्दा यातायात प्रभावित हुन सक्छ। सार्वजनिक सडक सबैको साझा सम्पत्ति भएकाले त्यसको प्रयोगमा नियम पालना हुनुपर्छ। तर, सडक व्यवस्थापनको प्रश्न उठाउने नाममा कुनै श्रमिक वा साना व्यवसायीलाई अपमानजनक शैलीमा प्रस्तुत हुनु र सामान फालिदिने धम्की दिनु आफैँमा प्रश्नयोग्य व्यवहार हो।
सार्वजनिक स्थानमा नियम कार्यान्वयन गराउने अधिकार सम्बन्धित निकाय र कानुनी प्रक्रियाको विषय हो, व्यक्तिगत आक्रोश वा प्रभाव देखाउने माध्यम होइन।
आलोचना गर्ने ठाउँमा पुगेपछि जवाफदेहिताबाट किन पछि हटिन् ?
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आशिकाको व्यवहारप्रति व्यापक आलोचना भइरहेको छ। आलोचकहरूले सडकमा सामान बेचेर जीविका चलाउने सामान्य नागरिकसँग जनप्रतिनिधिले देखाउनुपर्ने व्यवहार यस्तो नहुने टिप्पणी गरेका छन्। ‘त्यही रिक्सा र ठेलामा सामान बेचेर तिरेको करबाट तलब खाने, अनि त्यही नागरिकलाई धम्क्याउने ?’ भन्ने प्रश्नसमेत उठाइएको छ।
आलोचनाको केन्द्र सडकमा जाम हुनु मात्रै होइन, जाम हटाउने नाममा प्रयोग गरिएको भाषा र शक्ति प्रदर्शनको शैली बनेको छ। सार्वजनिक जिम्मेवारीमा पुगेका व्यक्तिले नियम उल्लंघन देखे सम्बन्धित निकायलाई जानकारी गराउन सक्छन्। तर, आफैँले महानगर बोलाएर सामान फालिदिने चेतावनी दिनु र सामान्य नागरिकलाई आदेशात्मक शैलीमा प्रस्तुत हुनु जनप्रतिनिधिको मर्यादासँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न उठेको छ।
अझ, आफूले विगतमा सर्वसाधारण, कर्मचारी र मन्त्रीका गलत कामविरुद्ध आवाज उठाएको दाबी गर्ने व्यक्तिले अहिले आफ्नै व्यवहारमाथि प्रश्न उठ्दा कस्तो जवाफ दिन्छिन् भन्ने विषयले पनि बहस जन्माएको छ।
११ महिनाअघिको भिडियो भन्दै पत्रकार र सांसदलाई लक्षित आक्रोश
भिडियो भाइरल भएपछि आशिका तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छिन्। उनले उक्त भिडियो अहिलेको नभई करिब ११ महिनाअघिको भएको दाबी गरेकी छिन्। त्यसबेला आफू कुनै राजनीतिक दल वा पदमा नरहेको र सामान्य सचेत नागरिकका रूपमा सामाजिक विकृतिविरुद्ध आवाज उठाउने गरेको उनको भनाइ छ।
उनले आफ्नो पुरानो भिडियो त्यतिबेला धेरैले समर्थन गरेको दाबी गर्दै अहिले त्यही भिडियो सार्वजनिक गरेर आलोचना गरिएकोप्रति असन्तुष्टि जनाएकी छिन्। आफ्नो पोस्टमा उनले ‘१२ भाइ’ र ‘२८ भाइ’ भन्दै पत्रकारलाई व्यंग्य गरेकी छिन्। आलोचना गर्ने सांसदहरूलाई ‘बेरोजगार माननीय’ को संज्ञा दिँदै खातापाताको हिसाब खोज्नेहरू आफैँ सीए बन्न खोजेको टिप्पणीसमेत गरेकी छिन्।
उनले आफू राजनीति गर्न नआएको र राजनीतिको रोटी सेक्ने स्वार्थ नरहेको दाबी गर्दै विगतका आफ्ना भिडियोसमेत एकैपटक भाइरल बनाइदिन चुनौती दिएकी छिन्। साथै, ११ महिनाअघि आफूले सार्वजनिक गरेका भिडियोमा जनताले दिएको समर्थनका स्क्रिनसट र भिडियोसमेत राखेको उल्लेख गरेकी छिन्।
तर, भिडियो पुरानो हो भन्ने दाबीले त्यसमा देखिएको व्यवहारमाथिको प्रश्न स्वतः समाप्त हुँदैन। कुनै व्यक्तिले विगतमा राम्रो काम गरेको वा कुनै समय जनसमर्थन पाएको आधारमा उसको सार्वजनिक व्यवहारमाथि प्रश्न उठाउन नपाइने होइन। आलोचना गर्ने अधिकार जसरी सामान्य नागरिकसँग हुन्छ, त्यसैगरी आलोचनाको जवाफ माग्ने अधिकार पनि नागरिकसँग हुन्छ।
आशिकाले भिडियो पुरानो भएको बताएकी छिन्, तर रिक्सा चालकसँगको व्यवहारबारे स्पष्ट आत्मसमीक्षा वा त्यसबेला प्रयोग गरिएको भाषाप्रति कुनै खेद व्यक्त गरेकी छैनन्। बरु आलोचकलाई नै निशाना बनाउने शैली अपनाएकी छिन्। यसले उनको प्रतिक्रियालाई थप विवादित बनाएको छ।
जनताको आवाज उठाउने कि जनतामाथि नै हुकुम चलाउने ?
आशिका तामाङको सार्वजनिक पहिचान विगतमा सडक, सार्वजनिक सेवा र विभिन्न सामाजिक विकृतिविरुद्ध आक्रामक रूपमा आवाज उठाउने अभियन्ताका रूपमा बनेको थियो। त्यही शैलीले उनलाई सामाजिक सञ्जालमा चर्चा र समर्थन दिलाएको थियो। तर, सार्वजनिक जिम्मेवारीमा पुगेपछि पनि त्यही आक्रामक शैलीलाई निरन्तरता दिनु उचित हुन्छ कि हुँदैन भन्ने प्रश्न अहिले उठेको छ।
जनप्रतिनिधिको जिम्मेवारी केवल अरूको गल्ती देखाउने मात्र होइन, आफ्नै व्यवहारमाथि उठेका प्रश्नको जवाफ दिनु पनि हो। सडकमा जाम गराउने गतिविधि गलत हुन सक्छ, तर त्यसलाई नियन्त्रण गर्ने नाममा श्रमिकलाई धम्क्याउने शैली पनि स्वीकार्य हुन सक्दैन।
भिडियो पुरानो हो वा नयाँ, त्यसको सन्दर्भ के थियो र रिक्सा चालकले वास्तवमै सडक अवरुद्ध गरेका थिए कि थिएनन् भन्ने विषय स्पष्ट हुन बाँकी छ। तर, भिडियोमा सुनिने भाषा र सामान फालिदिने चेतावनीले जनप्रतिनिधिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।
आफूले अरूलाई प्रश्न गर्दा त्यसलाई नागरिकको सचेत आवाज मान्ने तर आफ्नै व्यवहारमाथि प्रश्न उठ्दा पत्रकार र सांसदलाई नै कटाक्ष गर्ने प्रवृत्तिले सार्वजनिक जवाफदेहिताको अर्थ कमजोर बनाउँछ। जनताको पक्षमा बोल्ने दाबी गर्नेले जनतासँग बोल्ने भाषा र आलोचना सहने क्षमता पनि देखाउनुपर्छ।

